ओम हस्पिटलको अध्यक्षमा डा. आनन्दप्रसाद श्रेष्ठ



काठमाडौं,जेठ १५। काठमाडौंको चावहिलस्थित ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिको अध्यक्षमा वरिष्ठ रेडियोलोजिष्ट डा. आनन्दप्रसाद श्रेष्ठ चुनिएका छन् । शनिवार काठमाडौंमा सम्पन्न हस्पिटलको २७औं वार्षिक साधारणसभाले नवनिर्वाचित सञ्चालक मध्येबाट डा. श्रेष्ठलाई सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

सञ्चालकमा सरला रिजाल, डा. हरि किशोर श्रेष्ठ, डा. गिसुपनिख प्रसिको, डा. राजेश किशोर श्रेष्ठ, डा. रिता सिंह हमाल, शरदकान्त अधिकारी, हरिप्रसाद पाठक, विजय मल्ल, बाबुकाजी कार्की, प्रा.डा. जागेश्वर शर्मा गौतम निर्वाचित भएका छन् । भारतको अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेजबाट रेडियोलोजीमा विशेषज्ञता हासिल गरेका तथा चिकित्सा क्षेत्रमा पाँच दशकभन्दा बढीको अनुभव सँगालेका डा. श्रेष्ठ नेपाल रेडियोलोजी सोसाइटीका सल्लाहकार समेत हुन् ।

हाल पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रतिष्ठान सभा सदस्य (सिनेटर) रहेका डा. श्रेष्ठ नेपाल मेडिकल कलेज शिक्षण अस्पतालका संस्थापक सञ्चालक, नेपाल सरकारको उच्च शिक्षा प्राविधिक समितिका पूर्व सदस्य र नेपाल मेडिकल काउन्सिलका पूर्व उपाध्यक्ष तथा नेपाल चिकित्सक संघको पूर्वअध्यक्ष समेत हुन् ।

अध्यक्ष डा. श्रेष्ठले अस्पतालमा संस्थागत सुशासन कायम गर्न सबैको साथ सहयोग अपरिहार्य रहेको बताए । बोर्डले समय सापेक्ष तथा विश्वस्तरमा अस्पताल सञ्चालन गर्ने र उच्चस्तरीय उपचार सेवालाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे । 

ओम अस्पतालमा दक्ष तथा अनुभवी चिकित्सक, स्तरीय नर्सिङ सेवासहित ३८ भन्दा बढी विशेषज्ञता सेवा सुलभ मूल्यमा विश्वस्तरीय उपचार सेवा एकै छानामुनि उपलब्ध रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्