दूध उत्पादन बढाउन कृषकलाई आधुनिक कृषि उपकरण



चितवन,जेठ १५। लागत कम गर्दै दूध उत्पादन वृद्धि गर्ने उद्देश्यसहित कालिका नगरपालिकाका किसानलाई आधुनिक कृषि उपकरण वितरण गरिएको छ । नगरपालिकाले पशुपालनमा आकर्षणसँगै उत्पादन वृद्धि गर्ने उद्देश्यले ८० प्रतिशत अनुदानमा पशुपालक किसानलाई आधुनिक कृषि उपकरण वितरण गरेको हो ।

नगरपालिकाले पशुपालक किसानलाई चापाकटर, दाना बनाउने मेसिन, ठेलागाडा र गर्भवती तथा सुत्केरी बंगुरलाई फिड सप्लिमेन्ट वितरण गरेको हो । नगरपालिकाको आर्थिक वर्ष २०८०/८१ मा विनियोजित रू. ८ लाखको बजेटमार्फत ७ जना पशुपालक किसानलाई चापाकटर, ८ जनालाई दाना बनाउने मेसिन, २० जनालाई ठेलागाडा र २९ जना किसानलाई फिड सप्लिमेन्ट वितरण गरिएको पशु शाखा प्रमुख ईश्वरीप्रसाद पौडेलले जानकारी दिए ।

नगरप्रमुख विनोद रेग्मीले अनुदानमा पशु किसानलाई आधुनिक कृषि उपकरण वितरण गरेसँगै व्यवसाय गर्न सहज हुने विश्वास व्यक्त गरे । ‘यसले किसानको लागत कम गर्न पनि मद्दत पुग्छ, सँगै उत्पादनमा पनि वृद्धि हुन्छ,’ रेग्मीले भने, ‘यी उपकरणले दुग्ध व्यवसाय थप व्यावसायिक हुनेछ ।’ 

प्रतिक्रिया दिनुहोस्