बढ्यो विद्युतीय गाडीमा कर



काठमाडौं,जेठ १८ । विद्युतीय गाडीको उपयोग बढाउने सरकारी नीतिविपरीत तिनको आयातमा कर बढाएको सरकारले स्रोतको अभावमा करका दर बढाउनुपरेको स्वीकारेको छ । सरकारले आगामी आर्थिक वर्ष (आव) २०८१/८२ को बजेटमार्फत सबै खाले विद्युतीय चारपांग्रेको आयातमा कर बढाएको छ । 

आर्थिक विधेयकमार्फत सरकारले निकै चर्चामा रहेको विद्युतीय सवारीसाधन (ईभी) मा भन्सार र अन्त:शुल्क बढाएको हो । नयाँ दरअनुसार अब ५० किलोवाटसम्मको ईभीमा १५ प्रतिशत भन्सार र ५ प्रतिशत अन्त:शुल्क लाग्नेछ । यस्ता गाडीमा यस वर्ष अन्त:शुल्क थिएन, १० प्रतिशत भन्सार दर लाग्दै आएको थियो । यस्तै ५१ देखि १०० किलोवाटमा थप ५/५ प्रतिशत भन्सार र अन्त:शुल्क बढाएको छ । यसअघि १५ प्रतिशत भन्सार र १० प्रतिशत अन्त:शुल्क थियो । 

१०१ देखि २०० किलोवाटसम्म ३० प्रतिशत भन्सार र २० प्रतिशत अन्त:शुल्क पुर्‍याएको छ । यसअघि भन्सार २० प्रतिशत र अन्त:शुल्क २० प्रतिशत थियो । २०१ देखि ३०० किलोवाटमा २० प्रतिशत भन्सार बढाएको छ । १० प्रतिशत अन्त:शुल्क घटेको छ । ३०० किलोवाटभन्दा बढीमा २० प्रतिशत भन्सार बढेको छ । १० प्रतिशत अन्त:शुल्क घटेको छ । समग्रमा १० प्रतिशत कर बढेको छ । 

पेट्रोलियमा पदार्थमा आधारित चारपांग्रेको तुलनामा विद्युतीय गाडीको आयात व्यापक रूपमा बढ्न थालेको सन्दर्भमा सवारीसाधनबाट आउने राजस्व व्यापक घटेकाले सरकारले विद्युतीयमा कर बढाएको हो । 

अर्थ मन्त्रालयका अधिकारीहरू पनि विगतमा कर घटाउँदा गल्ती भएको कारण हाल सञ्चाइएको दाबी गर्छन् । ‘अघिल्ला वर्षमा कर घटाउँदा सरकारको आम्दानीमै धक्का पुग्यो, त्यसैले विगतका गल्ती यसपटक सच्याइयो,’ राजस्व सचिव रामप्रसाद घिमिरेले बुधवार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘हामीले शुरू चरणमा विद्युतीय गाडीको उपयोग प्रवर्द्धन गर्न ज्यादै उत्साहित भएर कर घटायौं । कुनै न कुनै बेला यसमा करेक्सन गर्नैपथ्र्यो । त्यही कारण यो वृद्धि गरिएको कर नीतिगत करेक्सनको उपाय हो ।’

नेपालमा करको दर तोक्ने आधार गाडीको इन्जिन क्षमता र किलोवाटलाई मानिन्छ । भारतमा भने मूल्यका आधारमा करको दर तोक्ने चलन छ । उच्च करका दर रहेको पेट्रोलियम पदार्थमा आधारित सवारीसाधनको तुलनामा कम कर रहेको विद्युतीय सवारीसाधनको आयात व्यापक बढेकाले सरकारलाई यसको आयातबाट आउने राजस्व घटेको छ ।

सवारीसाधन र त्यसका पार्टपुर्जा आयातबाट आव २०७८/७९ मा ९० अर्ब रुपैयाँसम्म राजस्व संकलन गरेको सरकारले गत आव २०७९/८० मा ३३ अर्ब ३३ करोड रुपैयाँ मात्र संकलन गरेको भन्सार विभागको तथ्यांक छ । चालू आव २०८०/८१ को पहिलो ९ महीनामा पनि मात्र ३९ अर्ब ८९ करोड रुपैयाँ मात्र राजस्व संकलन भएको विभागले बताएको छ ।भन्सार विभागका अनुसार चालू आवको प्रथम १० महीनामा ८ हजार ४९७ विद्युतीय चारपांग्रे गाडी भित्रिएका छन् । गत आव २०७९/८० मा ४ हजार ५० ओटा यस्ता गाडी भित्रिएका थिए ।

प्रतिक्रिया दिनुहोस्