अग्रिम आयकरप्रति चामल तथा दाल उद्योग संघको ध्यानाकर्षण



काठमाडौं,जेठ १८। नेपाल चामल तथा दाल उद्योग संघले आर्थिक वर्ष २०८१/८२ को बजेटमा दाल उद्योगको कच्चा पदार्थ (दाल गेडागुडी) आयातमा १० प्रतिशत अग्रिम आयकर लगाइएकोप्रति ध्यानाकर्षण भएको बताएको छ ।

कच्चा पदार्थ आयातमा १० प्रतिशत अग्रिम आयकर थपिँदा आयातित तयारी दाल गेडागुडी र खुला सिमानाबाट आयात हुने दाल गेडागुडीसँग प्रतिस्पर्धा गर्न नसकी यहाँका उद्योग बन्द हुने अवस्थामा पुगेको संघको भनाइ छ । कच्चा दाल आयातमा १० प्रतिशत अग्रिम आयकर थपिँदा स्वदेशी उद्योग चल्न नसक्ने संघको ठहर छ ।

हाल मिलको कच्चा दाल र गेडागुडी आयातमा १० प्रतिशत भन्सार महसुल लागिरहेकोमा अब अतिरिक्त १० प्रतिशत अग्रिम आयकर भन्सारमै बुझाउने व्यवस्था गरिएको छ । यसरी कर माथि कर थपिँदा दाल गेडागुडी महँगो हुने संघको भनाइ छ । नेपालमा करीब ३५ दाल उद्योगमा ३५ अर्बको लगानी र ५ हजारले रोजगारी पाइरहेको संघको दाबी छ । एकातर्फ सरकारले खुद नाफा २० प्रतिशतमा सीमित गरिरहेको र अर्कोतर्फ १० प्रतिशत अग्रिम करले न्यूनतम खुद नाफा ५० प्रतिशत पुग्ने संघको ठहर छ ।

प्रतिक्रिया दिनुहोस्