तनहुँमा राष्ट्रिय परिचयपत्र बनाउन सेवाग्राहीलाई सास्ती



दमौली (तनहुँ),जेठ १९ । तनहुँको व्यास नगरपालिका–७, तल्लोखर्क निवासी ६८ वर्षीया हरिमाया बानियाँ बिहीवार बिहानै प्रशासन कार्यालय आइपुगे । राष्ट्रिय परिचयपत्रका लागि नाम दर्ता गर्न दिनभर लाइन बस्दा पनि उनको पालो आएन । 

बिहीवार घर फर्किएर शुक्रबार बिहानै ६ बजे उनी पुनः प्रशासन कार्यालय आए । उनले बिहान १० बजे राष्ट्रिय परिचयपत्रका लागि नाम दर्ता गराए । उनले भने, ‘राष्ट्रिय परिचयपत्रका लागि निकै दुःख रहेछ । दुई दिनमा बल्ल बल्ल पालो आएर काम भयो ।’ 

सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएपछि परिचयपत्र बनाउन आउँदा कार्यालयमा निकै भीड रहेको उनको भनाइ छ ।

व्यास नगरपालिका–९, माझफाँटकी मीठुमाया विकले दुई दिनको पालो कुरेपछि काम भएको बताइन् । उनले भनिन्, ‘बिहीबार बिहानै ६ बजेदेखि आएर बसें, दिनभर बस्दा पालो आएन । शुक्रबार फेरि बिहानै आएर बसेपछि पालो आयो र काम बन्यो ।’    

म्याग्दे गाउँपालिका–१, गुणादी निवासी लक्ष्मी खनालले प्रशासन कार्यालयमा कर्मचारीको अभावमा जनतालाई सास्ती भएको बताइन् । उनले दुःखेसो पोख्दै भनिन्, ‘यस्तो गर्मीमा पाउनु दुःख पाइयो । परिचयपत्र बनाउन आएको पालो आउँदैन । टन्टलापुर घामले टाउको दुखिसक्यो । बिहानैदेखि भोकभोकै छु ।’

आगामी आर्थिक वर्षदेखि सामाजिक सुरक्षा भत्ता लिनका लागि राष्ट्रिय परिचयपत्र बनाउनुपर्ने अनिवार्य गरिएपछि प्रशासन कार्यालयमा बिहानै ६ बजेदेखि भीड हुने गरेको छ । सोही भीडमा पालो कुर्दै गरेको अवस्थामा भेटिएकी उनले सहजरूपमा सेवा पाउने वातावरण बनाउन माग गरिन् । उनले भनिन्, ‘सरकारले जनतालाई कसरी हुन्छ सहजरूपमा सेवा दिनुपर्छ । यसरी दुःख दिएर भएन ।’

व्यास–१४ का देवबहादुर आलेले आमाको राष्ट्रिय परिचयपत्र बनाउन बिहान ७ बजेदेखि लाइनमा बसेको बताए । उनले भने, ‘पहिला वडा कार्यालयमा दर्ता गरेको, त्यतिबेलाको नम्बर अझै आएन । त्यही भएर प्रशासनमै गएर दर्ता गर्नुपर्छ भनेर बिहानैदेखि बसेको पालो नै आउँदैन ।’ 

यतिबेला राष्ट्रिय परिचयपत्र दैनिकजसो जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको घुइँचो लागेको छ । जिल्ला प्रशासन कार्यालयमा हाल दुईवटा विवरण दर्ता स्टेसनमार्फत परिचय पत्रको फारम भरिँदै आएको छ । उक्त दुई वटा दर्ता स्टेसनको दैनिक क्षमता करीब एक सय जना रहेकामा केही दिनयता राष्ट्रिय परिचयपत्रको लागि दैनिक चार सयसम्मको भीड लाग्ने गरेको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए ।  

प्रतिक्रिया दिनुहोस्