वीरगञ्ज नाका :५ खर्बको आयात, २६ अर्ब निकासी, आयातमा इन्धनको वर्चस्व



वीरगञ्ज,जेठ २० । मुख्य नाका वीरगञ्जबाट हुने आयातको शीर्ष स्थानमा इन्धन रहेको छ । वीरगञ्ज भन्सार कार्यालयको तथ्यांकअनुसार चालू आर्थिक वर्ष (आव) २०८०/८१ को १० महीनाको आयातको शीर्ष ३ स्थानमा क्रमश: डिजेल, पेट्रोल र एलपी ग्यास रहेको छ । अघिल्लो आव २०७९/८० को तुलनामा डिजेल पेट्रोलको आयात झिनो परिमाणले बढेको छ ।

ग्यासको आयातमा १२ दशमलव ६३ प्रतिशतले कमी आएको भन्सारको तथ्यांकले देखाउँछ । खाना पकाउने प्रयोजनमा ग्यासको सट्टा विद्युत्को खपत बढेकाले आयात घटेको भन्सारका अधिकारीहरू बताउँछन् । 

विगतमा औद्योगिक प्रतिष्ठानहरूमा समेत ग्यासको खपत हुने गरेकोमा मन्दीका कारण बजारमा माग घटेपछि औद्योगिक खपतमा पनि कमी आएको उद्योगीहरूले बताएका छन् । औद्योगिक कच्चापदार्थ र सवारीका साधन पनि मुख्य आयातित वस्तुको स्थानमा परेका छन् । यो १० महीनामा जीप, कार र भ्यानको आयात ३५ दशमलव ५५ प्रतिशतले बढेको छ । गत आवको वैशाखसम्मका ९६२ ओटा जीप, कार र भ्यान आयात भएकोमा यस वर्ष १ हजार ३०४ ओटा यस्ता सवारीसाधन भित्रिएका छन् ।

भटमासको अर्धप्रशोधित तेलको आयात ६१ प्रतिशतले घटेको छ । भारतले तेल आयातमा शून्य शुल्क नीति लिएपछि भारततर्फको निकासी करीब शून्यजस्तै भएकाले कच्चापदार्थको आयात घटेको तेल उद्योगी प्रभुदयाल अग्रवाल बताउँछन् ।

पाम र सूर्यमुखीको अर्धप्रशोधित तेलको आयात पनि खस्किएको छ । निर्माण सामग्रीको खपत घटेपछि फलाम उद्योगले भित्त्याउने कच्चा पदार्थको आयातमा समेत कमी आएको उद्योगीहरू बताउँछन् । 

५ खर्बको आयात, २६ अर्ब निकासी

बितेको १० महीनामा वीरगञ्ज नाकाबाट करीब ५ खर्ब रुपैयाँको आयात हुँदा निर्यात व्यापार २६ अर्ब रुपैयाँबराबर भएको छ । भन्सार कार्यालयको तथ्यांकअनुसार ४ खर्ब ९९ अर्ब २१ करोड रुपैयाँबराबरको मालसामान भित्रिएको छ । सो अवधिमा यो नाकाबाट २६ अर्ब १२ करोड रुपैयाँको बस्तु निकासी भएको देखिन्छ ।

चालू आवमा आयात र निर्यात दुवै घटेको छ । गत आवको वैशाखसम्मको तुलनामा चालू आवको सोही अवधिमा आयात र निर्यात क्रमश: १४ दशमलव ५८ र १९ दशमलव २९ प्रतिशतले कमी आएको भन्सारको तथ्यांक छ । भन्सार कार्यालयले १ खर्ब २७ अर्ब ४६ करोड रुपैयाँ राजस्व उठाएको छ । यो रकम लक्ष्यको तुलनामा ६२ दशमलव ८२ प्रतिशत हो । सो अवधिका लागि कार्यालयलाई २ खर्ब २ अर्ब रुपैयाँको लक्ष्य तोकिएको थियो । 

प्रतिक्रिया दिनुहोस्