दक्षिण अफ्रिकामा सत्तारुढ दल एएनसीले ३० वर्षमा पहिलोपटक गुमायो बहुमत



काठमाडौं,जेठ २१ । दक्षिण अफ्रिकाको आमचुनावमा राष्ट्रपति सिरिल रामाफोसा नेतृत्वको दल अफ्रिकन नेसनल कंग्रेस (एएनसी)ले ३० वर्षमा पहिलोपटक बहुमत गुमाएको छ । 

गत बुधवारको भएको निर्वाचनको मतगणनाको अन्तिम मतपरिणामअनुसार एएनसीले ४० प्रतिशतभन्दा बढी मत मात्रै पाएको छ । अघिल्लो चुनावमा पार्टीले ५८ प्रतिशत मत पाएको थियो । 

पछिल्लो चुनावको मत सन् १९९४ मा नेल्सन मण्डेला राष्ट्रपति बनेयताकै सबैभन्दा कम हो । नेल्सन मण्डेला राष्ट्रपति हुँदा एएनसीले ५० प्रतिशतभन्दा बढी मत प्राप्त गरेको थियो ।

पछिल्लो समय उच्च स्तरको भ्रष्टाचार, बढ्दो बेरोजगारी र अपराधको आक्रोशका कारण पार्टीप्रतिको समर्थन उल्लेखनीय रूपमा घट्दै गएको विश्लेषक बताउँछन् । 

चुनावमा डेमोक्रेटिक अलाइन्स (डीए)ले २२ प्रतिशत मत पाएको छ । यस्तै, पूर्व राष्ट्रपति ज्याकोब जुमाको नेतृत्वमा युएमखोन्टो वी सिज्वे (एमके)ले १५ प्रतिशत मत ल्याएको छ । इकोनोमिक फ्रिडम फाइटर्स (ईएफएफ)ले भने ९ प्रतिशत मात्रै मत पाएको छ । 

चुनावमा कुनै पनि दलले बहुमत नपाएपछि अब गठबन्धनको सरकार बन्ने निश्चित देखिएको छ । राष्ट्रपति रामाफोसासहित एएनसी नेतृत्वले अहिले गठबन्धनका लागि वार्ताको तयारी र आगामी बाटोबारे छलफल गरिरहेको एक स्रोतले बीबीसीलाई बताएको छ । 

एमकेले एएनसीसँग मिलेर काम गर्न तयार रहेको बताएको छ । तर, एमके रामाफोसाको नेतृत्वमा काम गर्न तयार छैन ।एएनसीका अध्यक्ष ग्वेडे मान्तशेले आफ्नो पार्टीले डीएसँग गठबन्धन गर्ने सम्भावना नरहेको बताए । उनले गठबन्धन सम्झौता का लागि दलहरुबीच ‘नीतिगत तालमेल’ हुनुपर्ने बताए । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्