प्रधानमन्त्री कप भलिबल : पुलिस र हेल्प नेपाल विजयी



काठमाडौं,जेठ २१ । नेपाल पुलिस क्लब र हेल्प नेपाल स्पोर्टस क्लबले राजधानीमा जारी प्रधानमन्त्री कप महिला तथा पुरुष भलिबल लिगअन्तर्गत पुरुषतर्फको खेलमा जीत हासिल गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा आज भएको खेलमा पुलिसले बुढानीलकण्ठ भलिबल क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै जीत हासिल गरेको हो । 

पुलिसले पहिलो सेट २५-२० ले जित्यो भने खेलको दोस्रो सेट २५-१९ ले आफ्नो पक्षमा पार्‍यो । त्यस्तै खेलको तेस्रो तथा अन्तिम सेट २५-१८ ले आफ्नो पक्षमा पार्‍यो । यससँगै पुलिसले प्रतियोगितामा तेस्रो जीत दर्ता गराएको छ । यसअघि पुलिसले सुदूरपश्चिम प्रदेश र एपिएफसँग पराजित गरेको थियो । आजको खेलमा पराजित बुढानीलकण्ठले अहिलेसम्म जीत हासिल गर्न सकेको छैन । बुढानीलकण्ठ हेल्प नेपाल र त्रिभुवन आर्मी क्लबसँग पराजित भएको थियो । आजै भएको अर्को खेलमा हेल्प नेपाल सुदूरपश्चिम प्रदेशलाई ३-० कै सोझो सेटमा पराजित गर्दै विजयी भयो । 

हेल्प नेपालले खेलको पहिलो सेट २५-१९, दोस्रो सेट २५-२० र तेस्रो सेट २५-२२ ले जित्यो । हेल्प नेपालले यसअघि बुढानीलकण्ठ र कोशी प्रदेशलाई पराजित गरेको थियो । सुदूरपश्चिम प्रदेश भने नेपाल पुलिस क्लब र गण्डकी प्रदेशसँग पराजित भएको थियो । यसैगरी महिलातर्फ आजै सम्पन्न खेलमा विभागीय टोली नेपाल एपिएफ क्लबले कर्णाली प्रदेश तथा एभरेष्ट भलिबल क्लब अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-० को सेटमा पराजित गर्दै विजयी भएको थियो । 

प्रतिक्रिया दिनुहोस्