हावाहुरीले केराखेती सखाप



चितवन,जेठ २१ । केही दिनयता आएको हावाहुरीले चितवनको केराखेतीमा करोडौंको क्षति पुर्‍याएको छ । अधिकांश किसानको बजार लैजाने तयारीमा रहेको केराका बोट हावाहुरीले नष्ट गरेपछि उत्पादनमा समेत ठूलो कमी आउने अनुमान गरिएको छ ।

रत्ननगर नगरपालिका–२ का हरिशरण पराजुलीको बगैंचामा बजार लैजाने अवस्थामा रहेका केरा बिहीवार र शुक्रवार आएको हावाहुरीले नष्ट गरेको छ । ‘२० बिघामा केरा लगाएको थिएँ, केरा बजार लैजान तयारी अवस्थामा थियो हावाहुरीले सबै नष्ट गरिदियो,’ पराजुलीले भने ।

बारीमा लगाएकामध्ये पाँच प्रतिशत केराका बोट पनि ठाडो नभएको उनको भनाइ छ । हावाहुरीका कारण ८० लाख रुपैयाँ घाटा भएको उनले बताए । पराजुलीको जस्तै चितवनका केरा किसानको समस्या उस्तै छ । केराको बीमा गरे पनि लगानी उठ्न कठिन हुने उनले बताए । ‘केराको बीमा त गरेको छु । गतवर्ष हावाहुरीले ढालेको ३१ सय बोटको ७ लाख रुपैयाँ अहिलेसम्म पाएको छैन,’ उनले भने ।

चितवन केरा उत्पादक संघका अध्यक्ष माधव घिमिरेले पनि आफ्नो ६ बिघा क्षेत्रफलमा लगाएको केराको बोट हावाहुरीले क्षति पुर्‍याएको बताए । उनले ३५ लाख रुपैयाँ बराबरको क्षति पुगेको अनुमान गरे । 

जेठ, असार र साउन केराका लागि राम्रो उत्पादन हुने महीना हो । तर, बजार लैजाने समयमा हावाहुरी आउँदा करीब ५ करोड रुपैयाँको हाराहारीमा केरा नष्ट भएको चितवन केरा उत्पादक संघका पूर्वअध्यक्ष विष्णुहरि पन्तले जानकारी दिए । पन्तका अनुसार, एक बिघा क्षेत्रफलमा दुई हजार बोट उत्पादन हुन्छ । अहिले चितवनमा दुई हजार दुई सय पाँच बिघा क्षेत्रफलमा केराखेती भएको छ । त्यसमध्ये ९५ प्रतिशत क्षेत्रफलमा लगाइएको केरा हावाहुरीले नष्ट गरेको उनको दाबी छ ।

चितवनमा केरा जोनसमेत सञ्चालनमा छ । आर्थिक वर्ष २०७५/७६ सालमा स्थापना भएको जोनले ५० प्रतिशत अनुदानमा केराका बिरुवा वितरण समेत गर्ने गर्दछ । यसले गर्दा किसानले केराखेती गर्ने क्षेत्रफल बढाइरहेका थिए । परियोजनाअन्तर्गत जिल्लामा १ हजार ६ सय हेक्टरमा केराखेती भएकोे प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनका सूचना अधिकृत इन्द्र शर्मा ढुंगानाले जानकारी दिए । ढुंगानाका अनुसार जिल्लामा प्रतिहेक्टर २८ मेट्रिक टन केरा उत्पादन हुने गर्दछ । तर, यस वर्ष हावाहुरीका कारण उत्पादन घट्ने उनको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्