टी-२० विश्वकपको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्सँग ६ विकेटले पराजित



काठमाडौं,जेठ २३ । आईसिसी टी–२० विश्वकपको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको छ । सुरुमा ब्याटिङ गरेको नेपालले दिएको १०७ रनको लक्ष्य नेदरल्यान्ड्सले १८.४ बलमा चार विकेटको क्षतिमा १०९ रन बनाउँदै पूरा गरेको हो । टस हारेर पहिला ब्याटिङ गरेको नेपालले सबै विकेट गुमाउँदै १९.२ ओभरमा १०६ रन बनाएको थियो । 

नेदरल्यान्डसका लागि म्याक्स अनवार्डले अर्धशतक बनाए । ४८ बलको सामना गरेका म्याक्सले एक छक्का र चार चौकाको मद्दतमा ५३ रन जोडेका हुन् । उसका लागि विक्रमजीत सिंहले २२ रन बनाए ।

नेपालका लागि सोमपाल कामी, अविनाश बोहरा र दीपेन्द्रसिंह ऐरीले समान एकएक विकेट लिए। सुरुमा ब्याटिङ गरेको नेपालका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ३५ रन बनाए । ३७ बलको सामना गर्दै पौडेलले ५ चौका प्रहार गरेका थिए । 

नेपालले ओपनर कुशल भुर्तेललाई ७ र आशिफ शेखलाई ४ रनमै गुमाएको थियो । अनिल शाह १२ बलमा ११ रन जोड्दै आउट भए । कुशल मल्ल ९ बलमा ९ रन बनाएर आउट हुँदा दीपेन्द्रसिंह ऐरीले ६ बलको सामना गर्दै मात्र १ रन जोडेका थिए ।

करन केसीले १२ बलमा १७ तथा गुल्सन झाले १५ बलमा १४ रनको योगदान दिए । नेपालका लागि करणले दुई र गुल्सनले एक छक्का प्रहार गरे।

नेपाललाई सस्तैमा समेट्न नेदरल्यान्ड्सका लागि टिम प्रिंगल र लोगन भान विकले तीनतीन विकेट लिए भने पाउल भान मेकरेन र बास डे लिडेले दुईदुई विकेट हात पारे । 

प्रतिक्रिया दिनुहोस्