ओलीद्वारा पिपलटारका १८ बाढीपीडित परिवारलाई अस्थायी आवास हस्तान्तरण



नुवाकोट,असोज २८ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नुवाकोटको पिपलटारमा बाढीबाट घरबारविहीन भएका १८ परिवारलाई निर्माण गरिएका अस्थायी आवास हस्तान्तरण गरेका छन्।

एमालेनिकट मजदुर संगठन जिफन्टको नेतृत्वमा निर्माण गरिएका आवास अध्यक्ष ओलीले बुधबार प्रभावित परिवारलाई हस्तान्तरण गरेका हुन्। बाढीपीडित परिवारलाई तत्काल बसोबासको व्यवस्था मिलाउने उद्देश्यले निर्माण गरिएका प्रत्येक आवासमा शौचालय, बिजुली र पानीलगायतका आधारभूत सुविधा उपलब्ध गराइएको छ। आवास निर्माण अभियानमा जिफन्टका स्वयंसेवकहरू सहभागी भएका थिए।

यसअघि नेकपाले पनि नुवाकोटको महादेवफाँटमा निर्माण गरेका अस्थायी आवास बाढीपीडित परिवारलाई हस्तान्तरण गरेको थियो।

गत भदौ १० गते भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा र नुवाकोटमा दुई हजार सात सयभन्दा बढी परिवार घरबारविहीन भएका छन्। बाढीले घर तथा भौतिक संरचनामा क्षति पुर्‍याएपछि प्रभावित परिवारको बसोबासमा समस्या हुँदै आएको छ।

संघीय सरकारले बाढीपीडितका लागि स्थायी आवासको व्यवस्था गर्ने पहल गरिरहेको भए पनि त्यसबारे ठोस निर्णय हुन सकेको छैन। स्थायी आवासको टुंगो नलाग्दा प्रभावित परिवार अस्थायी बसोबासको भरमा रहन बाध्य छन्।

राजनीतिक दलहरूले विभिन्न स्थानमा अस्थायी आवास निर्माण गरी हस्तान्तरण गर्न थालेपछि बाढीपीडित परिवारलाई तत्कालका लागि राहत मिलेको छ। यद्यपि, प्रभावित परिवारको दीर्घकालीन समस्या समाधान गर्न स्थायी आवास निर्माण र पुनःस्थापनाको व्यवस्था आवश्यक देखिएको छ।

प्रतिक्रिया दिनुहोस्