कांग्रेस २०८४ सालसम्म प्रतिपक्षमै रहने : थापा



काठमाडौं,जेठ २७ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस विसं २०८४ सम्म प्रतिपक्षमा बस्ने बताएका छन् ।

नेपाली कांग्रेस काठमाडौं महानगरपालिका–३ वडा कार्यसमितिले शनिबार यहाँ आयोजना गरेको ‘वर्तमान राजनीतिक अवस्थामा नेपाली कांग्रेसको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले अर्को निर्वाचनसम्म कांग्रेस सशक्त प्रतिपक्ष भएर बस्ने बताएका हुन् । 

महामन्त्री थापाले विसं २०७९ को निर्वाचनमा पाँच वर्षका लागि पाँच दलबीच गठबन्धन भए पनि चाहनाले नभई परिस्थितिले गठबन्धन टुटेकाले अब प्रतिपक्षमा बसेर सङ्गठन निर्माणको कामलाई अगाडि बढाउने बताए । तीन वर्षको समय पार्टीलाई पुनःनिर्माण र बलियो बनाउने समय भएको उनको भनाइ छ ।

‘कांग्रेसको सरकार बनाउने र गिराउने चाहाना छैन, कांग्रेस जनताका विषयलाई लिएर अगाडि बढ्छ, सरकार र शक्तिको आडमा अदालत र संवैधानिक आयोगलाई प्रभावमा पारेर कसैले जनविरोधी काम गर्न पाइँदैन,’ उनले भने । 
      
महामन्त्री थापाले पछिल्लो समय राष्ट्रिय अर्थतन्त्र कमजोर भएकाले त्यसलाई ठीक गर्न कांग्रेसले पहलकदमी लिने बताए । उनले कांग्रेसले तीन सय ३२ स्थानीय तहमा विजय हासिल गरेर कतिपय स्थानीय तहमा राम्रा काम गरे पनि त्यसको प्रचारप्रसार हुन नसकेको उल्लेख गरे । 

महामन्त्री थापाले घरघरमा पुगेर पार्टी र आगामी कार्यदिशाका बारेमा छलफल गर्नुपर्ने बेला आएको बताए । उनले अब बस्ने पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले महासमितिको प्रस्ताव पारित गरेर अगाडि बढ्ने उल्लेख गरे । आगामी बैठकले पार्टीका भ्रातृ संस्थाका बारेमा निर्णय लिने उनले जानकारी दिए । 
      
कांग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले काठमाडौंका जनता सचेत भएकाले सोहीअनुसार पार्टीले रणनीति बनाएर अगाडि बढ्नुपर्ने बताए । ‘सङ्गठनलाई सशक्त बनाउन जनसम्पर्क र जनताका चाहनालाई सम्बोधन गरेर अगाडि बढ्नुपर्छ,’ उनले भने । 

नेता पौडेलले गिरिबन्धु टी स्टेटका बारेमा अदालतले फैसला गरेकाले त्यसबारे कांग्रेसले कुरा उठाउँदै आएको बताए । गिरिबन्धु टी स्टेटका बारेमा सहकारीजस्तै कुरा उठाउन जरुरी भएको उनले बताए । रासस 

प्रतिक्रिया दिनुहोस्