चितवनको सौराहामा भेटेरिनरी एशोसियसनको १५ औं राष्ट्रिय सम्मेलन शुरु



चितवन,जेठ २७ । जिल्लाको पर्यटकीय नगरी सौराहामा शुक्रवारदेखि नेपाल भेटेरिनरी एशोसिएसनको १५औं राष्ट्रिय सम्मेलन शुरु भएको छ । सम्मेलनको उद्घाटन कार्यक्रममा एशोसिएसनले एक जिल्ला एक भेटेरिनरी अस्पताल सञ्चालन गर्न सरकारसँग माग गरेको छ ।

भेटेरिनरी अस्पताल अभाव हुँदा पशु स्वास्थ्यको उपचारमा समस्या भएको भन्दै एशोसिएसनले विशेषज्ञ डाक्टर सहितको एक जिल्ला एक भेटेरिनरी अस्पताल सञ्चालन गर्न माग गरिएको हो । एशोसिएसनका अध्यक्ष डा. रामकृष्ण खतिवडाले एक जिल्ला एक भेटेरिनरी अस्पताल तथा विज्ञ केन्द्र र स्थानीय तहमा भेटेरिनरियन आधारभूत अस्पताल सञ्चालन गर्नुपर्ने माग गरे ।

भेटेरिनरी डाक्टरको जनशक्ति थप तथा पदपूर्ति, महामारी रोकथाम का लागि संरचना निर्माण, चौबिसै घण्टा अत्यावश्यक सेवा सञ्चालन, पशु प्रजनन् सेवाको विस्तार, रैथाने जातको संरक्षण, पशु वधशाला तथा मासु जाँच ऐन २०५५ लागु, कृषि ऋण पशु बीमामा सहजीकरण, पशुपंछी क्षेत्रको नीतिगत निर्माणमा एशोसियसनको संस्थागत सहभागिताको माग गरिएको अध्यक्ष खतिवडाले बताए ।

कार्यक्रममा पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालले देशका अधिकांश जिल्लामा भेटेरिनरी अस्पताल सञ्चालनमा रहेको भन्दै २९६ स्थानीय तहमा पशुचिकित्सक रहेको बताए । महामारी रोग नियन्त्रणको लागि सरकारले प्रभावकारी काम गरिरहेको भन्दै उनले आगामी तीन वर्षमा रोग उल्मुलन गर्ने गरि कार्ययोजना अगाडि बढेको बताए ।

नेपाल ह्याचरी एशोसिएसनका महासचिव ज्ञानबहादुर विसुरालले बर्ड फ्लुविरुद्ध भ्याक्सिन अबैधरूपमा निर्यात गर्नु पर्ने बाध्यकारी अवस्था रहेको भन्दै सहज बनाउन सरकारसँग माग गरे । उनले प्रदेशस्तरीय प्रयोगशाला, वधशाला र कोल्डस्टोर सञ्चालन गर्न माग गरे । 

कार्यक्रममा नेपाल पशु चिकित्सा परिषद्का अध्यक्ष डा. बज्रकिशोर शाहले पशुचिकित्साप्रति युवाहरूको आकर्षण बढ्दै गएको भन्दै पशु चिकित्साप्रतिको मर्यादा अझै मजबुत हुने बताए । 

नेपालमा तीन हजार पशुचिकित्सक आवश्यक रहेको भन्दै उनले करीब ५० प्रतिशत पशुचिकित्सक अभाव रहेको बताए । उनले अभावका बीच ३० प्रतिशत पशुचिकित्सक विदेशिएको बताए । कार्यक्रमका प्रमुख अतिथि कृषि तथा पशुपंछी विकास मन्त्रालयका सचिव डा. राजेन्द्र प्रसाद मिश्रले सरकारले कृषिमा लगानीको दशक घोषणा गरेको भन्दै कृषिमा लगानी आवश्यकता, बाध्यता र अवसर बराबर रहेको बताए । मुलुकको भेटेरिनरी सेवालाई थप प्रभावकारी बनाउदै प्रतिफल प्राप्त गर्ने गरी योजना बनाइने उनको भनाइ छ । 

स्वदेश तथा विदेशका गरी ५०० भन्दा बढी पशु चिकित्सक, वैज्ञानिक, प्राध्यापक, प्रशासक सहभागी रहेको सम्मेलनमा करीब १०० कार्यपत्र प्रस्तुत हुनेछन् । सम्मेलनवाट पेशामा संलग्न जनशक्तिको लागि प्राविधिक ज्ञान, शीप तथा दक्षता हासिल गर्ने र पुनर्ताजगी हुने बताइएको छ । सम्मेलन दुई दिनसम्म चल्नेछ । 

प्रतिक्रिया दिनुहोस्