त्रिभुवन विमानस्थल दैनिक १० घण्टा बन्द हुने



काठमाडौं,जेठ २७ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल करिब पाँच महिना दैनिक १० घण्टा बन्द हुने भएको छ । 

विमानस्थल कार्यालयका प्रमुख जगन्नाथ निरौलाले विमानस्थलको क्षमता विस्तार आयोजना अन्तर्गत स्तरोन्नतिका लागि आगामी कात्तिक २३ गतेदेखि चैत १८ गतेसम्म दैनिक १० घण्टा बन्द हुन लागेको जानकारी दिए  । उनले भने, “विमानस्थलको क्षमता विस्तारका लागि राति १० बजेदेखि बिहान ८ बजेसम्म विमानस्थलमा उडान–अवतरण बन्द हुने छ । यसका लागि नेपालमा अन्तर्राष्ट्रिय उडान गर्दै आएका वायुसेवा कम्पनीसँग छलफल गरेर नोटाम (विमानस्थलमा उडान गतिविधि बन्द हुने सूचना) जारी भइसकेको छ ।”

प्रमुख निरौलाले नेपाल नागरिक उड्डयन प्राधिकरण, हवाई यातायात क्षमता अभिवृद्वि आयोजना अन्तर्गत हाल धावनमार्गका दुवैतर्फको विन्दुतर्फ नयाँ समानान्तर ट्याक्सी–वे निर्माण भइरहेको जानकारी दिए । उनले ट्याक्सी–वे र धावनमार्ग जोड्ने लिङ्क–वे तथा जहाज पार्किङ एरिया एप्रोनसँग जोड्ने बाटो निर्माण र ह्याङ्गर क्षेत्रतर्फ एरिया विस्तारका लागि विमानस्थल बन्द गर्न लागिएको जानकारी दिए ।

प्रमुख निरौलाले हाल पाँच ठाउँबाट ट्याक्सी–वे धावनमार्गमा जोडिएकोमा चैतसम्म १० ठाउँबाट धावनमार्गलाई ट्याक्सी–वे र एप्रोनसँग जोड्ने काम सम्पन्न हुने बताए । उनका अनुसार विमानस्थलको धावनमार्गको मध्य भागबाट ७५ मिटर वरपर चौतर्फी ट्याक्सी–वे विस्तारको काम हुन लागेको हो । उनले विमानस्थल स्तरोन्नतिको काम सकिएपछि ट्याक्सी–वे विस्तारसँगै धावनमार्गको क्षमता करिब २० प्रतिशत बढ्नुका साथै हवाई ट्राफिकमा समेत कमी आउने जानकारी दिए ।

कात्तिक २३ गतेसमम्म दसैँ तथा तिहारमा हुने हवाई चापसमेत कम हुँदै जाने र पर्यटकीय सिजनसमेत सकिने भएकाले उडान सेवा कम प्रभावित हुने विमानस्थल प्रमुख निरौलाले बताए । हाल विमानस्थलमा दिउँसो १ बजेदेखि बेलुका ५ बजेसम्म हवाई चाप कम रहेकाले राति १० बजेपछि उडान अवतरण गर्दै आएका अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले उक्त समयमा उडान तालिका सार्न सक्ने उनले बताए । त्यस्तै भैरहवास्थित गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलबाट समेत उडान–अवतरण गर्ने बाटो खुला रहेको उनले जानकारी दिए ।

हाल बिहान ६ बजे खुलेर राति २ बजे बन्द हुँदै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक २१ घण्टा सञ्चालन हुँदै आएको छ । यहाँ राति १० बजेपछि नेपाल वायुसेवा निगम, हिमालय एयरलाइन्स, सिङ्गापुर एयरलाइन्स, क्याथे प्यासिफिक, कतार एयरवेजलगायतका वायुसेवाले उडान–अवतरण गर्दै आएका छन् । हाल विमानस्थलको धावनमार्गको उत्तरी विन्दुतर्फ भइरहेको निर्माण कार्यका कारण चैत १९ देखि बौद्धतर्फबाट जहाज अवतरणमा रोक लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्