जलेश्वर भन्सार: पेट्रोलियम पदार्थबाट रू. १ अर्ब ४० करोड राजस्व संकलन



जनकपुरधाम,जेठ २८ । महोत्तरीको जलेश्वर भन्सार कार्यालयले आर्थिक वर्ष (आव) २०८०/८१ को १० महीनामा पेट्रोलियम पदार्थबाट रू. १ अर्ब ४० करोड २९ लाख राजस्व संकलन गरेको छ ।

जलेश्वर भन्सार नाकाबाट आयात हुने वस्तुमध्ये पेट्रोलियम पदार्थबाट उठेको राजस्वको हिस्सा कुल असुलीको ५३ दशमलव ५९ प्रतिशत रहेको जलेश्वर भन्सार कार्यालयका प्रमुख अमित पौडेलले बताए । आवको १० महीनामा कुल राजस्व भने रू. २ अर्ब ६१ करोड ७९ लाख संकलन भएको छ ।

गत आवको तुलनामा चालू आवमा पेट्रोलियम पदार्थको आयातमा कमी आए पनि राजस्व संकलन भने २८ दशमलव ६७ प्रतिशतले बढेको कार्यालय प्रमुख पौडेलले जानकारी दिए । कार्यालयले चालू आवमा रू. ३ अर्ब ७६ करोड २३ लाख ६२ हजार राजस्व असुलीको लक्ष्य पाएको छ ।

कार्यालयका अनुसार जलेश्वर भन्सार नाकाबाट आयात हुने प्रमुख वस्तुमा पेट्रोलियम पदार्थपछि कोइला, धान, चामल, आलु, प्याज, फलफूल र औद्योगिक कच्चापदार्थ रहेका छन् । उक्त नाकाबाट हाल पेट्रोलियम पदार्थबाट संकलन हुने राजस्व बढी भए पनि २०८१/८२ को साउनपछि मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाट पेट्रोल आयात हुन थालेपछि यस नाकाबाट उक्त वस्तुको आयात बन्द हुने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्