इजरायली युद्ध क्याबिनेट मन्त्री बेन्नी गान्ट्जले दिए राजीनामा



एजेन्सी,जेठ २९ । इजरायली युद्ध क्याबिनेट मन्त्री बेन्नी गान्ट्जले राजीनामा दिएका छन्। उनले आइतवार प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको सरकारबाट राजीनामा दिएका हुन्। उनको यो कदमले गाजा युद्धको बीचमा नेतान्याहुमाथि घरेलु दबाब बढाएको छ। 

प्यालेस्टिनी समूह हमास विरुद्ध ८ महिना लामो गाजा युद्धमा नेतान्याहुका लागि यो पहिलो ठूलो राजनीतिक धक्का हो। गान्ट्जको केन्द्रवादी पार्टीबाट बाहिरिनुले सरकारलाई तुरुन्त कुनै खतरा भने हुने छैन । तर विज्ञहरूका अनुसार नेतान्याहु अब आफ्ना दक्षिणपन्थी सहयोगीहरूमा बढी भर पर्न बाध्य हुन सक्छन्।

गान्ट्जले एक टेलिभिजन समाचार सम्मेलनमा भने ‘नेतान्याहुले हामीलाई साँचो विजयतर्फ अघि बढ्नबाट रोकिरहेका थिए। तसर्थ आज हामी भारी हृदयले तर पूर्ण विश्वासका साथ आपतकालीन सरकार छाड्दैछौँ । म नेतन्याहुलाई चुनावको मिति तय गर्न आग्रह गर्दछु। हाम्रा जनतालाई टुक्रिन दिनु हुँदैन।’

बीबीसीका अनुसार गान्ट्जले आफूले व्यक्तिगत रूपमा सरकारबाट मात्र नभई आफू अध्यक्ष रहेको राष्ट्रिय एकता पार्टीबाट पनि राजीनामा दिएको बताए ।

गान्ट्जको यो कदमले इजरायली सरकारलाई ढाल्दैन किनभने नेतान्याहूसँग १२० सिटको संसदमा अझै पनि ६४  सिटको बहुमत छ।

किन दिए राजीनामा

गान्ट्जले बारम्बार नेतन्याहू सरकारलाई घेराबन्दी र बम विस्फोट प्यालेस्टाइन क्षेत्रहरूको लागि युद्धपश्चात योजना प्रस्तुत गर्न आह्वान गरिरहेका थिए । गत महिना पनि सरकारले यसमा प्रतिक्रिया नदिएपछि गान्ट्जले गाजामा युद्धको निरीक्षण गर्न गत वर्ष गठन गरिएको आपतकालीन सरकार छोड्ने धम्की दिएका थिए।

बेन्नी गान्ट्जले आफ्नो राजीनामाको घोषणा गरेको केही समयपछि, इजरायलका प्रधानमन्त्री नेतन्याहूले गान्ट्जलाइ यो लडाइँ छोड्ने समय होइन र यो सेनामा सामेल हुने समय भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्