चुनावको घोषणा गर्दै फ्रान्सका राष्ट्रपति म्याक्रोनले गरे संसद भंग



एजेन्सी,जेठ २९ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले राष्ट्रिय सभा विघटन गरेका छन् । युरोपेली संसदीय चुनावमा पार्टीको लज्जास्पद पराजयलाई मध्यनजर गर्दै उनले यो निर्णय गरेको सीएनएनले समाचार संप्रेषण गरेको छ।

एक्जिट पोलका अनुसार आइतवार भएको युरोपियन युनियनको संसदीय चुनावमा म्याक्रोनको पुनर्जागरण पार्टी मरिन ले पेनको दक्षिणपन्थी पार्टी नेसनल र्‍यालीसँग पराजित भएको थियो । राष्ट्रका नाममा सम्बोधन गर्दै उनले तल्लो सदन राष्ट्रियसभाको पहिलो चरणको निर्वाचन जुन ३० मा र दोस्रो चरणको निर्वाचन जुलाइ ७ गते हुँने बताएका छन् ।

एक्जिट पोलको अनुमान अनुसार नेसनल र्‍यालीले ३१ दशमलव ५० प्रतिशत मत प्राप्त गरेको छ । जबकि पुनर्जागरण पार्टीले १५ दशमलव २० प्रतिशत मात्र मत पाउने अनुमान गरिएको छ । एक्जिट पोलको अनुमान अनुसार समाजवादी पार्टी १४.३ प्रतिशत मतका साथ तेस्रो स्थानमा रहन सक्छ ।

युरोपियन युनियन चुनाव के हो? जसले फ्रान्समा के असर गर्छ ?

युरोपेली संघ युरोपका २७ देशहरूको राजनीतिक र आर्थिक संघ हो। त्यसमा संसद छ । जसका प्रतिनिधिहरू युरोपेली नागरिकहरूको तर्फबाट प्रत्यक्ष निर्वाचित हुन्छन्। यसको कार्य युरोपेली कानूनको लोकतान्त्रिक वैधता कायम राख्नु हो। यो संघ नागरिक प्रतिनिधिहरु मिलेर बनेको छ । यहाँ निर्वाचित भएपछि उनीहरूले पाँच वर्षसम्म प्रतिनिधित्व गर्छन्।

एक्जिट पोल आएको केही घण्टापछि म्याक्रोनले संसद भंग गरेको घोषणा गरेका थिए । आफ्नो सम्बोधनमा उनले यो नतिजा सरकारका लागि विनाशकारी रहेको बताएका छन् । उनले भने ‘म यसलाई बेवास्ता गर्न सक्दिन। मैले संसद विघटन गरेको छु । अब तपाईंसँग आफ्नो राजनीतिक भविष्य छनौट गर्ने विकल्प छ। म पक्का छु कि तपाईले सही निर्णय लिनुहुनेछ।‘

फ्रान्सको राष्ट्रिय सभामा ५७७ सदस्य रहेका छन् । राष्ट्रपति पदका लागि छुट्टै निर्वाचन हुँदैछ । यस्तो अवस्थामा पुनर्जागरण पार्टी हार्यो भने पनि म्याक्रोन पदमा रहनेछन् । अर्कोतर्फ, यदि मारिन ले पेनको राष्ट्रिय र्‍याली (आरएन) ले राष्ट्रिय सभामा बहुमत हासिल गर्छ भने, म्याक्रोन अत्यन्तै कमजोर राष्ट्रपति बन्नेछन् । संसदमा महत्वपूर्ण निर्णय लिन विपक्षी दलहरूमा भर पर्नु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्