न्यूरोडमा फुटपाथ विस्तारमा स्थानीयको विरोध, काम धमाधम हुँदै

काठमाडौं,साउन ५ । काठमाडौं महानगरपालिकाले न्यूरोड क्षेत्रमा फुटपाथ विस्तार पुन: थालेपछि स्थानीयले विरोध जनाएका छन् । शुक्रवार न्यूरोडमा जम्मा भएका स्थानीयले सडकको चौडाइ घटाएर फुटपाथ विस्तार गर्न लागिएको भन्दै असन्तुष्टि पोखेका हुन् ।
महानगरले डेढ महीनापछि गत बुधवारबाट फुटपाथ विस्तारको काम पुन: शुरु गरेको हो । स्थानीयको विरोधमा पनि उक्त काम रोकिएको छैन ।
यसअघि गत जेठ दोस्रो साता सडक विभागले सो क्षेत्रमा फुटपाथ विस्तार गर्न रोक लगाएको थियो । त्यतिबेला विभागले सडक आफ्नो क्षेत्राधिकारभित्र पर्ने भन्दै उक्त काममा रोक लगाएको थियो । त्यतिबेला महानगरले फुटपाथ विस्तारका लागि खनेको सडक विभागले कालोपत्र गरेको थियो । त्यसपछि उक्त विवाद अदालतसम्म पुगेको थियो ।
महानगरले अदालतको आदेशअनुसार फुटपाथ विस्तार पुनः थालेको बताएको छ ।