म्याग्दीको सिङ्गा तातोपानी कुण्डमा सन्ध्याकालीन आरती
म्याग्दी,साउन ८ । उपचार र मनोरञ्जनका लागि तातोपानी कुण्डमा आउने पर्यटकहरूलाई लक्षित गरेर सन्ध्याकालीन आरती सुरु गरिएको छ । प्राकृतिक उपचारका रूपमा प्रसिद्ध म्याग्दीको बेनी नगरपालिका–४ मा रहेको सिङ्गा तातोपानी कुण्डमा हरेक सोमबार साँझ सन्ध्याकालीन आरती सुरु गरिएको हो ।
सिङ्गा तातोपानी कुण्ड व्यवस्थापन समितिले साउन महिनाको पहिलो सोमबार पारेर सन्ध्याकालीन आरती सुरु गरेको हो । हरेक सोमबार साँझ नियमित रूपमा आरती गरिने समितिका सचिव कुमार केसीले बताए ।
“बागलुङबाट जनशक्ति ल्याएर अहिले हरेक हप्ताको सोमबार साँझ आरती गर्न सुरुवात गरेका छौं,” उनले भने “प्राकृतिक उपचार र पर्यटकीय स्थल तातोपानीलाई धार्मिक रूपमा पनि प्रवर्द्धन गर्न स्थानीय जनशक्ति तयार पारेर आरतीलाई निरन्तरता दिन्छौं ।”
म्याग्दी नदीको किनारमा शिव मन्दिर र तातोपानीको कुण्ड परिसरमा भजन कीर्तन र धार्मिक विधि अनुसार आरती गर्ने व्यवस्था मिलाइएको छ । तातोपानी कुण्डमा स्नान गरेर उपचार तथा मनोरञ्जनका लागि आउने पाहुनाहरूलाई लक्षित गरेर आरती सुरु गरिएको अध्यक्ष कृष्ण खड्काले बताए ।
जमिनभित्रबाट बिरेनुनको गन्धमा ५० डिग्री सेल्सियसभन्दा बढी तातोपानी निस्कने यहाँ शरीर डुबाएर स्नानका लागि वार्षिक २० हजारभन्दा बढी पाहुनाहरू आउने गर्दछन् । समितिका अध्यक्ष कृष्ण खड्का र पूर्व अध्यक्ष वीरेन्द्रमान शाक्यले आरतीको शुभारम्भ गरेका थिए ।
सो कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख सुरत केसी, प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाललगायत सुरक्षा अधिकारी, बेनी नगरपालिका–४ का वडा अध्यक्ष अणबहादुर खड्का (भगवान) लगायत जनप्रतिनिधिको पनि उपस्थिति थियो ।