सौर्य एयरलाइन्सको जहाज दुर्घटना : ‘जीवितै उद्धार गरिएका क्याप्टेनको अवस्था सामान्य’

काठमाडौं,साउन ११ । दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाजका क्याप्टेन मनीषरत्न शाक्यको अवस्था सामान्य रहेको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले जनाएको छ ।
अस्पतालकी निर्देशक प्रा.डा. मीना थापाले बिहीवार जारी गरिएको प्रेस विज्ञप्तिमा क्याप्टेन शाक्यको अवस्था सामान्य रहेको र अन्य जटिलताहरू नदेखिएको उल्लेख छ ।
क्याप्टेन शाक्यको आँखा, नाक र टाउकोमा चोट रहेको, ढाडको एउटा हड्डीका साथै देव्रेतर्फका तीन वटा करङ भाँचिएको अस्पतालले जनाएको छ । ‘आँखा, नाक र टाउकोमा लागेका चोटको बुधवार नै उपचार गरिसकिएको छ,’ प्रेस विज्ञप्तिमा भनिएको छ ।
दुर्घटनामा घाइते भई उपचाररत क्याप्टेन शाक्यको अवस्थाबारे काठमाडौं मेडिकल कलेजले विज्ञप्ति निकालेरै जानकारी गराएको हो ।
गत बुधवार बिहान ११ः११ बजे काठमाडौंस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा भएको दुर्घटनामा उनको जीवितै उद्धार गरिएको थियो । त्यसपछि उनलाई उपचारका लागि काठमाडौं मेडिकल कलेज ल्याइएको हो ।
