गलत इन्जिनियरिङले बर्षामा सडकको बढी क्षति



काठमाडौँ, मङ्सिर १८ । मुलुकको पूर्वाधार निर्माणमा पर्याप्त भूगर्भिक (जियो) तथा जैविक (बायो) इन्जिनियरिङको प्रयोग भएको देखिँदैन । जसले गर्दा मुलुकभरका राजमार्ग र मुख्य सडक पहिरोले थिलथिलो हुने, भासिने र अवरुद्ध हुने, पुल निर्माण हुँदाहुँदै भासिने तथा सञ्चालन हुनुअघि नै भत्किने जस्ता समस्या देखा पर्ने गरेका छन् । 

सङ्घीय सरकारमार्फत हुने गरेको सडक तथा पुलको निर्माणमा भूगर्भिक तथा जैविक (बायो) इन्जिनियरिङको प्रयोग केही हदसम्म गरेको देखिए पनि स्थानीय तह र कतिपय ठाउँमा प्रदेश सरकारबाट निर्माण गरिने पूर्वाधार निर्माणमा त्यसको प्रयोग गरिएको देखिँदैन ।

पूर्वसचिव इन्जिनियर अर्जुनजङ्ग थापाले सङ्घीय सरकारमार्फत हुने मुख्य पूर्वाधारबाहेक अन्य पूर्वाधार निर्माणमा पर्याप्त भूगर्भिक तथा जैविक इन्जिनियरिङ प्रयोग हुन नसकेको बताए । सडक विभागको पूर्वमहानिर्देशकसमेत रहेका थापाले स्थानीय र प्रदेश सरकारबाट निर्माण हुने पूर्वाधारमा भूगर्भिक तथा जैविक (बायो) इन्जिनियरिङको प्रयोग नहुने गरेको जानकारी दिए । उनले भने, “सङ्घीय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभागमार्फत निर्माण हुने राजमार्ग तथा पुलहरूमा यस इन्जिनियरिङको प्रयोग गरिए पनि सानातिना सडक तथा पुलमा प्रयोग गरिएको छैन ।’’ 

कतिपय ठाउँमा भूगर्भिक अध्ययन र इन्जिनियरिङ प्रयोग गरिए पनि प्रभावकारी नभएको उनको भनाइ छ । उनका अनुसार विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गमा भूगर्भिक तथा जैविक (बायो) इन्जिनियरिङको प्रयोग गरिए पनि दमौली खण्डको घाँसीकुवा भन्ने ठाउँमा यही बर्सात्मा ठुलो पहिरो गएको थियो । त्यसै गरी निर्माणाधीन नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गमा ठुलो पहिरो गएको थियो ।

पूर्वसचिव थापाले गलत इन्जिनियरिङका कारणसमेत कतिपय ठाउँमा समस्या देखिएको बताए । पुलहरू निर्माणकै क्रममा भासिनु, हावाले उडाउनु, सडकमा एकातिर कालोपत्रे हुनु र अर्कोतर्फ उप्किनु गलत तथा अपर्याप्त इन्जिनियरिङकै परिणाम रहेको बताउछन् ।

इहमी विश्वविद्यालय जापानमा अध्यापनरत भूगर्भविद् प्राडा नेत्रप्रकाश भण्डारीले नेपाल जस्तो भूबनोट भएको मुलुकमा पूर्वाधार निर्माणमा भूगर्भिक तथा जैविक (बायो) इन्जिनियरिङको प्रयोग तथा महत्व जुन रूपमा हुनुपथ्र्यो त्यस्तो हुन नसकेको बताउछन् । उनले भने, “सम्बन्धित इन्जिनियरिङको प्रयोगबिना जथाभाबी माटो खन्ने र पहाड खन्ने कामको अनुगमन हुन सकेको छैन । कति माटो काट्ने, कहाँ बस्ती बसाउने जस्ता काम भूगर्भिक इन्जिनियरिङको प्रयोगबिना गर्नुहुँदैन । यस विषयमा सरकारी निकायहरू बढी चनाखो र सचेत हुनु पर्छ ।”

नेपालको जस्तो जटिल भूबनोट तथा पहाडहरूको स्थिति चलायमान रहेको अवस्थामा अध्ययन तथा भूगर्भिक इन्जिनियरिङको प्रयोग गरेर मात्र पूर्वाधार निर्माण गर्नुपर्नेमा त्यस्तो नहुनु ठुलो जनधनको क्षति बेहोर्नु जस्तै रहेको प्राडा भण्डारीको भनाइ छ । “माटो काटियो भने त्यसमा पानी पसेपछि त्यो भत्किन्छ । पानी नपस्ने खालको वा पानी पसे पनि बगेर जाने खालको संरचना बनाउनुपर्ने हुन्छ,” प्राडा भण्डारीले भने, “जहाँ पायो त्यहीँ रुख रोपेर, बुट्यान लगाएर मात्र हुँदैन, कत्तिको भिरालो जमिनमा रुख रोप्ने, कत्तिको भिरालोमा कङ्क्रिटको पर्खाल लगाउने भन्नेबारे निर्माणभन्दा पहिले नै ‘डिजाइन’ गर्नुपर्ने हुन्छ ।” 

उनले भने, “नेपालमा प्रायः मोटर गुड्ने बाटो बनाइन्छ तर सडक किनारमा पानी बग्ने ‘ड्रेन’ बनाइँदैन । सडक निर्माणका लागि भित्ता (माटो) काटेपछि त्यहाँ पहिरो जान नदिनका लागि कुनै उपाय अपनाइएको हुँदैन । पहिरोले दुःख दिन थालेपछि बल्ल पर्खाल बनाउन थाल्छौँ । जबकि सडकको डिजाइनसँगै त्यहाँ पानी बग्ने ‘ड्रेन’ र पहिरो रोक्ने भित्ता निर्माणको समेत डिजाइन गर्नुपर्ने हुन्छ ।”

भूगर्भविद् अच्युतानन्द भण्डारीले नेपालमा अहिलेसम्म मुख्य पूर्वाधारबाहेकको संरचना निर्माणमा भूगर्भिक तथा जैविक इन्जिनियरिङको प्रयोग नभएको बताए । उनले भने, “प्रयोग गरिए पनि अपर्याप्त मात्रामा, झारा टार्ने किसिमले गरिएको हुन्छ, जसको परिणाम राज्यले लामो समयसम्म जनधनको ठुलो क्षति बेहोर्नुपर्ने हुन्छ ।”

उनले नेपाल जस्तो पहाडी र हिमाली भूबनोट भएको भूभागमा पानी बग्ने संरचनाको राम्रो निर्माण गर्न सकिएन भने सडक पूर्वाधारलाई पानीले नै सिध्याउन सक्ने बताए । उनले गएको असारमा मुग्लिङ–नारायणगढखण्डको सिमलताल भन्ने स्थानमा माथिबाट आएको लेदोसहितको पानीले नै बसलाई बगाएको बताउँदै माथिबाट आउने पानीलाई संरचना बनाएर तर्काएको भए त्यहाँ त्यो दुर्घटना हुँदैनथ्यो भने । सो ठाउँमा माथि जथाभाबी सडक निर्माण गर्न भित्ता काटिएको छ ।

पहाडी र हिमाली भूभागमा सडक निर्माण गर्दा सडकसँगै पानी बग्ने संरचनाको समेत डिजाइन गर्नुपर्ने उनको भनाइ छ । सुरक्षित सडक तथा पुल निर्माणका लागि भित्ता काट्नुभन्दा नदीखोला पछ्याउनु राम्रो हुने बताउँदै उनले भित्ता काटिएको ठाउँमा ‘बायो’ इन्जिनियरिङको प्रयोग नहुँदासमेत पहिरो जस्ता समस्या बढ्दै गएको उल्लेख गरे ।निर्माणको क्रममा ‘बायो’ इन्जिनियरिङको राम्रोसँग प्रयोग, सडक छेउ भिरालो कम गरेर, सडकको माथिबाट आएको पानीलाई खोल्सी भएको ठाउँतिर पन्छाएको अवस्थामा कम पहिरो आउने र आए पनि सडक संरचनामा कम क्षति हुने उनको अनुभव छ । 

प्रतिक्रिया दिनुहोस्