यूएईको कमजोर प्रदर्शन: नेपाललाई १२९ रनको लक्ष्य



काठमाडौँ,बैशाख ८— नेपाल र यूएईबीच जारी टी–२० अन्तर्राष्ट्रिय शृंखलाको दोस्रो खेलमा यूएईले नेपाललाई जितका लागि १२९ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा यूएईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२८ रन बनाएको हो। टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले सुरुदेखि नै कसिलो बलिङ गर्दै यूएईलाई दबाबमा राख्यो। यूएईका प्रमुख ब्याट्सम्यान मुहम्मद वासिमलाई हेमन्त धामीले पहिलो बलमै एलबिडब्ल्यू आउट गरेपछि यूएई दबाबमा परेको थियो। त्यसपछि नन्दन यादव र हेमन्त धामीले क्रमशः अलिशान सराफु र हरप्रित सिंहलाई एक–एक रनमा पवेलियन फर्काए।

यूएईका लागि अदिब उसमानीले ३० रन बनाउँदा अक्षदीप नाथले अविजित ५३ रनको महत्वपूर्ण योगदान दिए। मुहम्मद अरफानले ३२ रन थप्दै टोलीलाई सम्मानजनक स्थितिमा पुर्‍याए। सोएब खान र निलान्स केसवानी भने खाता खोल्न नसकी आउट भए।

नेपालका लागि सन्दीप लामिछानेले उत्कृष्ट बलिङ प्रदर्शन गर्दै ४ ओभरमा १ मेडनसहित मात्र ६ रन खर्चेर ३ विकेट लिए। हेमन्त धामीले २ विकेट लिए।

अब नेपालले जितका लागि १२९ रन बनाउनुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्