नेपाल र यूएईबीचको दोस्रो खेल आज
किर्तिपुर,वैशाख ८ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार नेपाल र यूएईबीच टी–२० श्रृंखलाको दोस्रो तथा अन्तिम खेल हुँदैछ। खेल साँझ ५ बजे सुरु हुने तालिका रहेको छ।
क्रिकेट वृत्तमा ‘एसोसिएट एल क्लासिको’का रूपमा लिइने यस प्रतिस्पर्धा नेपालका लागि निर्णायक बनेको छ। वर्षाले प्रभावित पहिलो खेलमा पराजय भोगेको नेपाल श्रृंखलामा १–० ले पछि परेको अवस्थामा छ भने मंगलबारको खेल जित्नैपर्ने दबाबमा मैदान उत्रिँदैछ।
सोमबार सम्पन्न पहिलो खेलमा डिएलएस विधिका आधारमा यूएईसँग ६ विकेटले पराजित भएपछि नेपाल अप्ठ्यारो स्थितिमा पुगेको हो। उक्त खेलमा नेपालको ब्याटिङ पक्ष कमजोर देखिए पनि बलिङमा सन्दीप लामिछाने उत्कृष्ट प्रदर्शन गर्दै २ ओभरमा ८ रन खर्चेर ३ विकेट लिएका थिए।
पाहुना टोली यूएईका कप्तान मोहमद वासिम भने उच्च लयमा देखिएका छन्। उनले पहिलो खेलमा १५ बलमै ३३ रन प्रहार गर्दै नेपालको बलिङमाथि दबाब सिर्जना गरेका थिए। साथै, जुनैद सिद्धिकी र मुहम्मद जुहैबको बलिङ पनि नेपालका लागि चुनौतीपूर्ण बन्न सक्ने देखिएको छ।
श्रृंखला बराबरी गर्न नेपाललाई माथिल्लो क्रमका ब्याटर कुशल भुर्तेल र आसिफ शेखबाट सशक्त सुरुआतको आवश्यकता रहनेछ। खेलको प्रत्यक्ष प्रसारण कान्तिपुर म्याक्स–२ बाट गरिनेछ।

