देशभर तातो हावाको लहरको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह



काठमाडौँ,बैशाख ८ — देशका विभिन्न भागमा तापक्रम निरन्तर बढेसँगै तातो हावाको लहर (लु) को जोखिम अझै केही दिन कायम रहने भएको छ। जल तथा मौसम विज्ञान विभाग ले बिहीबारसम्म तराईका केही जिल्लामा लु चल्ने सम्भावना रहेको जनाउँदै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

विभागका अनुसार आज दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ।धनगढी र नेपालगञ्जमा ४३ डिग्री, भैरहवामा ४४ डिग्री तथा काठमाडौँमा ३३ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ।

मौसमविद् विनु महर्जन का अनुसार पूर्वी भूभागमा शनिबारसम्म र पश्चिम क्षेत्रमा अझै केही दिन बढी तातो रहने सम्भावना छ। उहाँले दिउँसोको समयमा अत्यावश्यकबाहेक बाहिर ननिस्कन, चिसो तथा हावादार स्थानमा बस्न, हल्का र पातलो कपडा लगाउन तथा प्रशस्त पानी र झोल पदार्थ सेवन गर्न सुझाव दिनुभएको छ।

लुम्बिनी र सुदूरपश्चिमका तराई जिल्लाहरू—कञ्चनपुर, कैलाली, डडेलधुरा, डोटी, बर्दिया, बाँके, दाङ, कपिलवस्तु र रुपन्देही—मा ‘सतर्क रहनु’ स्तरको चेतावनी जारी गरिएको छ। त्यस्तै अछाम, सुर्खेत, दैलेख, सल्यान, रोल्पा, प्यूठान, अर्घाखाँची, पाल्पा, परासी, नवलपुर, चितवन, मकवानपुर, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा, सप्तरी, सिन्धुली र उदयपुरलगायत जिल्लामा ‘अद्यावधिक रहनु’ स्तरको चेतावनी दिइएको छ।

उच्च तापक्रमका कारण थकान, अत्यधिक तिर्खा लाग्ने, टाउको दुख्ने, आँखामा पोल्ने, चक्कर आउने तथा बेहोस हुने जस्ता समस्या देखिन सक्ने विभागले जनाएको छ। बालबालिका, वृद्ध तथा दीर्घरोगीहरू विशेष जोखिममा पर्ने भएकाले आवश्यक सतर्कता अपनाउन समेत आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस्