अमेरिकी भोजमा नजर परेको त्यो ‘सारी’



काठमाडौँ, पुस १९ । नेपालको परराष्ट्र सेवा तथा कूटनीतिक क्षेत्रमा महिलाको बलियो उपस्थिति बन्न सकेको छैन तर जुन बेला महिला घरबाट बाहिर निस्कन र काम गर्न असहज थियो, त्यो बेला कूटनीतिक सेवामा प्रवेश गरेर नेपालको पहिलो महिला राजदूत बनेकी थिइन विन्देश्वरी शाह । उनको ९२ वर्षको उमेरमा बिहीबार निधन भयो । 

पूर्वपरराष्ट्रसचिव डा. मदनकुमार भट्टराईका अनुसार नेपाली महिलाको कूटनीतिक क्षेत्रमा उपस्थितिका हिसाबले उनी पथप्रदर्शक थिइन । भट्टराईले भने, “नेपाली कूटनीतिक वृत्तमा एक जुझारु र पथप्रदर्शक महिलाका रूपमा उनको परिचय स्थापित छ ।”

त्यति मात्र होइन, शिक्षा क्षेत्रमा महिलाको उपस्थितिका हिसाबले पनि ऊ बेलाका अब्बल महिलामा उनी गनिन्थिन । पिता पद्मसुन्दर मल्ल निर्वासनमा परेकाले खर्साङमा उनको जन्म भयो । विद्यालय शिक्षा त्यहीँ लिएकी शाहले विद्यालय प्रतिस्पर्धामा प्रथम भएर सानै उमेरमा हेराल्ड ट्रिब्युन अमेरिकाका तर्फबाट अमेरिका भ्रमण गर्ने अवसर पाएकी थिइन । 

अमेरिकाकै कोलम्बिया विश्वविद्यालयको बार्नर कलेजबाट पहिलो नेपाली महिला विद्यार्थीका रूपमा बिए (स्नातक) उत्तीर्ण गरिन । त्यसपछि जोन्स हकिन्स विश्वविद्यालयबाट उनले पहिलो नेपाली महिलाका रूपमा अमेरिकाबाट स्नातकोत्तर उत्तीर्ण गरिन । त्यहाँबाट उनी नेपाल फर्किन । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालय खुलेपछि त्यहाँ पहिलो महिला लाइब्रेरियनका रूपमा उनी जागिरे बनिन । 

त्यो बेला नेपालमा विश्वेश्वरप्रसाद कोइराला प्रधानमन्त्री थिए । उनले पुस्तकालयको पहिलो सदस्यका रूपमा राजा महेन्द्रवीरविक्रम शाहलाई सदस्यता दिए । त्यस्तै प्रधानमन्त्री बिपी कोइरालालाई पुस्तकालयको दोस्रो सदस्यता दिलाएको भट्टराईले स्मरण गरे । 

तत्कालीन बडामहारानी रत्नराज्यलक्ष्मीदेवी शाहको अध्यक्षतामा गठित युनेस्को समितिमा सदस्य बन्ने अवसर उनले पाइन । त्यसपछि उनी परराष्ट्र सेवामा प्रवेश गरिन । उनीसहित शान्ति राणाले पनि आवेदन दिएका थिए । लोक सेवाले लिएको परीक्षामा राणाको नाम निस्किएन तर शाहको नाम निस्केपछि पहिलो महिला अधिकृतका रूपमा उनले परराष्ट्र मन्त्रालयमा स्थायी सेवा सुरु गरिन । सेवाकै क्रममा उनको अङ्ग्रेजी प्रखर भएकाले अमेरिकामा सरुवा भयो । त्यो बेला नेपालमा दुई पटक प्रधानमन्त्री भएर पनि अमेरिकाका लागि राजदूत बनेर मातृकाप्रसाद कोइराला त्यहाँ पुगेका थिए । दुई वर्षपछि कोइरालाले राजीनामा दिएपछि शाह कार्यवाहक राजदूत नियुक्त भए । 

भट्टराई स्मरण गर्छन्, “अमेरिकी सरकारले आयोजना गरेको एउटा भोजमा पुरुषका बिचमा एक जना मात्र महिला सारी लगाएर पुगेकी शाह सबैको आँखामा परेकी थिइन  ।” यता दक्षिण एसियामा भारत, पाकिस्तान र बङ्गलादेश स्वतन्त्र हुने आलोपालो चलिरहेको थियो । बङ्गलादेश पाकिस्तानबाट स्वतन्त्र भएपछि तत्कालीन राजा वीरेन्द्रले पहिलो महिला नियोग प्रमुखका रूपमा उनलाई पठाएका थिए । सन् १९७२ देखि १९७६ सम्म त्यहाँ भूमिका निर्वाह गरिन । 

बङ्गलादेशका पूर्वप्रधानमन्त्री बेगम खालिदा जिया र सेख हसिना वाजेद दुवै जना शाहबाट निकै प्रेरित थिए । भट्टराईले स्मरण गरे, “दुवै जनाले मसँग शाह कहाँ हुनुहुन्छ भनेर बारम्बार सोधेका थिए । लामो समय परराष्ट्र मन्त्रालयमा नेपालको पहिलो महिला सहसचिवका रूपमा कार्यरत रहे । सोही क्रममा सन् १९८८ मा भारतका लागि नेपालको राजदूतमा नियुक्त भए । उनी त्यहाँ सन् १९९१ सम्म राजदूत पदमा रहे ।” 

त्यो बेला भारतले नेपालमा गरेको नाकाबन्दीका कारण कठिन समय थियो । नेपालमा बहुदलीय व्यवस्था पुनस्र्थापना भएपछि प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको भारत भ्रमण गराउन शाहले महत्वपूर्ण भूमिका खेले । त्यही बेला भारतसँग भएका सन्धि सम्झौता थप सुधार गरेर लैजाने र सम्बन्ध सुमधुर बनाउने दिशामा उनको भूमिका रहेको स्मरण भट्टराईले गरे । भट्टराई शाहसँगै दिल्लीमा काम गरेका थिए । पछि गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बन्नुभएपछि भने उनलाई फिर्ता बोलाइएको थियो ।  

खरो स्वभावका कारण उनलाई त्यो बेलाको पितृसत्तात्मक सोच भएका व्यक्तिहरूले त्यति मन नपराउने र डराउने गर्थे तर उनले महिलालाई हामी पुरुषभन्दा केही कम छैनौँ, अघि बढ्नु पर्छ, महिलाको क्षमता पुरुषकोभन्दा बढी हुन्छ भनेर हौस्याइरहन्थे।

पूर्वराजदूत मोहनकृष्ण श्रेष्ठ पनि शाह मन्त्रालयमा अब्बल कारिन्दा भएको स्मरण गर्छन । उमले भने, के महिला के पुरुष सबैलाई नेताको जस्तै गरेर ‘कमान्डिङ’ तहमा काम लिन र गराउन सक्ने खुबी उनको थियो । महिला भए पनि उनीसँग सिधै बोल्ने र केही भन्ने आँट पुरुष कर्मचारीको हुँदैनथ्यो । उनका श्रीमान् नारायणकेशरी शाह डाक्टर थिए । दुई छोरामध्ये कान्छाको निधन भइसकेको छ । हाल जेठा छोरा तथा बैङ्कर अनिलकेशरी शाहका साथमा उनी रहेका थिए  । त्यसपछि उनी मन्त्रालयमा अतिरिक्त सचिवमा पहिलो महिला पनि दरिए । सरकारले ५८ बर्र्से सेवा कार्यविधि ल्याएपछि सन् १९९३ मा परराष्ट्रसचिव हुन नपाउँदै उनको अवकाश भएको थियो । गोरखापत्रबाट

प्रतिक्रिया दिनुहोस्