साउने सोमबार दुप्चेश्वरमा भक्तजनको घुइँचो, शनिबार दुई लाखभन्दा बढी भेटी
नुवाकोट, साउन १८ । नुवाकोटको प्रसिद्ध धार्मिकस्थल दुप्चेश्वर धाममा साउने तेस्रो सोमबारको अवसरमा आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । दुप्चेश्वर गाउँपालिका–६ करेजुङस्थित दुप्चेश्वर महादेव मन्दिरमा साउन लागेसँगै दर्शन तथा पूजाआजाका लागि आउने भक्तजनको सङ्ख्या उल्लेख्य रूपमा बढेको हो ।
पशुपतिनाथको पर्यायका रूपमा समेत परिचित दुप्चेश्वर धाममा साउन महिनाका सोमबार, शनिबार तथा अन्य सार्वजनिक बिदाका दिन विशेष भीड लाग्ने गरेको छ । पछिल्लो समय दैनिक हजारौँ भक्तजन दुप्चेश्वर पुग्ने गरेका छन् ।
दुप्चेश्वर क्षेत्र विकास कोषका अनुसार साउनको तेस्रो शनिबार मात्रै सात हजारभन्दा बढी भक्तजनले मन्दिरमा दर्शन तथा पूजाआजा गरेका थिए । दर्शनार्थीको भीड साँझसम्म नै लागेको थियो । हिन्दु तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थलका रूपमा विकास हुँदै गएको दुप्चेश्वरमा नेपालका विभिन्न स्थानसँगै भारतलगायतका देशबाट समेत तीर्थालु आउने गरेका छन् ।
भक्तजनको सङ्ख्या बढेसँगै मन्दिरमा चढाइने भेटीसमेत बढेको छ । कोषका कोषाध्यक्ष राजकुमार श्रेष्ठका अनुसार साउनको तेस्रो शनिबार दुप्चेश्वर धाममा दुई लाख २४ हजार दुई सय ९५ रुपैयाँ भेटी सङ्कलन भएको छ । त्यसमध्ये मध्यान्ह आरतीबाट ८७ हजार तीन सय ७० रुपैयाँ र क्युआर कोडमार्फत ११ हजार पाँच सय ९५ रुपैयाँ सङ्कलन भएको थियो ।
भक्तजनले चढाएको भेटी तीन वर्षदेखि दैनिक सङ्कलन गरी प्रत्येक दिन साँझ ५ बजे मन्दिर परिसरमै सामूहिक रूपमा गणना गर्ने व्यवस्था गरिएको कोषले जनाएको छ । दुप्चेश्वर गाउँपालिका अध्यक्ष शंकरबहादुर थापाका अनुसार भक्तजनको आगमन बढेसँगै भेटी सङ्कलन पनि बढिरहेको छ । दर्शनार्थीको सहजताका लागि गाउँपालिका र दुप्चेश्वर क्षेत्र विकास कोषले व्यवस्थापनमा सक्रियता बढाएका छन् ।
करेजुङको ठूलो पहरामा तादी नदीको पूर्वी किनारमा अवस्थित दुप्चेश्वर धाम प्राकृतिक रूपमा समेत आकर्षक मानिन्छ । यहाँ पुग्ने भक्तजनले भगवान् दुप्चेश्वरलाई गाईको दूध तथा पशुचौपायाको दाम्लो चढाउने धार्मिक परम्परा रहेको छ ।
नुवाकोटको सदरमुकाम विदुरबाट करिब डेढ घण्टा र काठमाडौँबाट करिब दुई घण्टाको यातायात यात्रामा पुग्न सकिने भएकाले पछिल्लो समय दुप्चेश्वरमा तीर्थालुको आगमन बढ्दै गएको छ ।सहज यातायात र सडक पहुँचका कारण आन्तरिक तथा बाह्य पर्यटक तथा तीर्थालुको चाप बढेको स्थानीयको भनाइ छ ।

