मकवानपुर जिल्लामा ७६४ जना बेपत्ता, ८९ अझै सम्पर्कविहीन



मकवानपुर,साउन १८ । मकवानपुर जिल्लाबाट गत आर्थिक वर्षमा बेपत्ता भएका ७६४ जनामध्ये ८९ जना अझै सम्पर्कमा आउन सकेका छैनन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार बेपत्ता भएकामध्ये ६७५ जनालाई जिल्लाका विभिन्न स्थानबाट उद्धार गरी परिवारको जिम्मा लगाइएको छ। बाँकीको खोजतलास जारी रहेको उहाँले जानकारी दिनुभयो।

प्रहरीका अनुसार कतिपय व्यक्ति नारायणी नदीमा हामफालेर बेपत्ता हुने गरेका छन्। तर घटनाबारे परिवार वा आफन्तलाई तत्काल जानकारी नहुँदा उनीहरू बेपत्ताको सूचीमा पर्ने गरेका छन्। घर फर्किएका व्यक्तिले प्रहरीलाई जानकारी नगराउँदा पनि बेपत्ताको तथ्याङ्क बढ्ने गरेको प्रहरीको भनाइ छ।

त्यस्तै, बेपत्ता हुँदाका बेला प्रहरीमा टिपाइएको सम्पर्क नम्बर पछि परिवर्तन हुने वा सम्पर्क नहुने अवस्थाका कारण पनि केही व्यक्ति खोजतलासको सूचीमा रहने गरेका छन्। पछिल्ला तीन आर्थिक वर्षमा जिल्लामा बेपत्ता हुनेको सङ्ख्या बढ्दो देखिएको छ।

आर्थिक वर्ष २०८०/८१ मा ४८७ जना बेपत्ता भएकामा ४७५ जना फेला परेका थिए भने १२ जनाको खोजतलास जारी थियो। आर्थिक वर्ष २०८१/८२ मा ५५३ जना बेपत्ता भएकामा ५४० जना फेला परेका थिए भने १३ जना अझै सम्पर्कविहीन थिए।

यसैबीच, गत आर्थिक वर्षमा जिल्लामा घरेलु हिंसासम्बन्धी ३८१ निवेदन परेका छन्। तीमध्ये ३०५ वटा मिलापत्र भएका छन् भने ७१ वटा अदालतमा दर्ता भएका छन्। पाँच निवेदन अझै छलफलका क्रममा रहेका छन्।

आर्थिक वर्ष २०८१/८२ मा घरेलु हिंसासम्बन्धी ५४२ निवेदन परेकामा ४६९ वटा मिलापत्र र ७३ वटा अदालतमा दर्ता भएका थिए। त्यसअघि आर्थिक वर्ष २०८०/८१ मा ४९० निवेदन परेकामा ४११ वटा मिलापत्र भएका थिए भने ७९ वटा अदालत पुगेका थिए।

गत आर्थिक वर्षमा जिल्लामा दुई हजार ३०५ वटा ठाडा उजुरीसमेत परेका छन्। तीमध्ये एक हजार ८७८ वटा जिल्ला प्रहरी कार्यालयमा र ४२७ वटा जिल्ला प्रशासन कार्यालयबाट प्राप्त भएका थिए। प्राप्त उजुरीमध्ये दुई हजार १०८ वटा मिलापत्रमार्फत फछ्र्यौट गरिएको छ भने १९७ वटा उजुरी फछ्र्यौट हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्