‘नेपाली कांग्रेस सामाजिक र आर्थिक क्रान्तिको अगुवा’



काभ्रेपलान्चोक,फागुन ७ । नेपाली कांग्रेसका प्रवक्ता एवं सांसद डा प्रकाशशरण महतले नेपाली सामाजिक र आर्थिक क्रान्तिको अगुवाइ काँग्रेसले गर्दै आएको बताएका छन् । 

बुधबार नेपाल शिक्षक सङ्घ काभ्रेपलाञ्चोकको आयोजनामा बनेपामा आयोजित २३औँ जिल्ला प्रतिनिधिसभा तथा शिक्षक सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले सात दशक अघिदेखि नेपाली काँग्रेसले सामाजिक–आर्थिक क्रान्तिको अगुवाइ गर्दै आएको बताए ।

“सामाजिक र आर्थिक क्रान्तिको अभियानलाई राजनीतिक द्वन्द्वले केही समय अवरोध गर्यो, हैन भने २००७ सालदेखि ०१७ साल, २०४६ र २०६२÷०६३ को जनआन्दोलनदेखि शान्ति स्थापना तथा संविधान जारी र कार्यान्वयनमा समेत काँग्रेसले अगुवाइ गरेको छ”, उनले भने । 

उनले बल प्रयोग नगरी जनताको मत जितेर सत्तामा जानुपर्ने मान्यतालाई काँग्रेसले स्थापित गरेको बताए । बिपी कोइरालाले भने झैँ अहिले ‘सत्यको मुख बन्द हुँदा झूटको थुतुनो खुल्छ’ भन्ने अवस्था भएकाले सत्यको मुख खोल्नुपर्ने आवश्यकता औँल्याए । आगामी निर्वाचन २०८४ मा कांग्रेस एक्लैले बहुमत ल्याउने उनको धारणा थियो ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य द्वय शिवप्रसाद हुमागाईँ र मधुप्रसाद आचार्य, जिल्ला सभापति तीर्थ लामालगायतले शिक्षकको योगदानबारे चर्चा गरे । सो अवसरमा शैक्षिक सत्र २०८० र २०८१ मा जिल्लाका उत्कृष्ट शिक्षकलाई सम्मान गरिएको थियो । 

 

प्रतिक्रिया दिनुहोस्