आज देशभर वर्षाको सम्भावना, कोसी र वाग्मतीमा भारी वर्षाको पूर्वानुमान
काठमाडौं, भदौ ३१ — देशका विभिन्न स्थानमा आज वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ भने केही स्थानमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना छ।
कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थान तथा कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
मधेससहित कोसी, वाग्मती र गण्डकी प्रदेशका तराई क्षेत्रमा केही स्थान तथा लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा थोरै स्थानमा मध्यम वर्षाको पूर्वानुमान गरिएको छ।
कोसी प्रदेशका हिमाली, पहाडी र तराई भूभाग तथा वाग्मती र गण्डकी प्रदेशका पहाडी र तराई क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने विभागले जनाएको छ।
यस्तै, कोसी र वाग्मती प्रदेशका हिमाली भूभागका केही स्थान तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा थोरै स्थानमा मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ।
राति पनि देशभर साधारणतया बादल लाग्नेछ। कोसी, वाग्मती र गण्डकीका हिमाली क्षेत्रमा थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागका एक–दुई स्थानमा मध्यम वर्षा वा हिमपात हुनसक्ने विभागको पूर्वानुमान छ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा पूर्वी क्षेत्रमा सरदर स्थान आसपास तथा पश्चिमी क्षेत्रमा सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको विभागले जनाएको छ।

