सिन्धुलीका बाढी पीडितलाई अस्थायी आवास निर्माणका लागि रकम निकासा

सिन्धुली,असार ६ । गत असोजमा आएको बाढीले क्षति पु¥याएका परिवारलाई अस्थायी आवास निर्माण गर्न सरकारले रकम निकासा गरेको छ। बाढी गएको झण्डै ९ महिनापछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जिल्ला प्रशासन कार्यालयमार्फत रकम निकासा गरेको हो।
२०८१ साल असोज ११ र १२ गतेको अविरल वर्षापछि आएको बाढी पहिरोबाट पूर्ण क्षति भएका परिवारलाई लाभग्राहीको विवरणका आधारमा रकम उपलब्ध गराइएको प्रमुख जिल्ला अधिकारी लिला प्रसाद शर्माले जानकारी दिए ।
सङ्कटग्रस्त घोषणा गरिएका चार पालिकामध्ये सबैभन्दा बढी क्षति सुनकोसी गाउँपालिकामा भएको हो। त्यहाँका ३६७ परिवारलाई जनही २५ हजारका दरले ९१ लाख ७५ हजार रुपैयाँ निकासा गरिएको छ।
त्यस्तै, गोलञ्जोर गाउँपालिकाका ८३ जनालाई २० लाख ७५ हजार, फिक्कलका ९ जनालाई २ लाख २५ हजार र हरिहरपुरगढीका लागि १ लाख ७५ हजार गरी जम्मा १ करोड १६ लाख ५० हजार रुपैयाँ निकासा गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
यससँगै प्रशासनले आगामी मनसुनजन्य विपद्लाई ध्यानमा राखी सम्पूर्ण स्थानीय तहलाई पूर्वतयारीमा लाग्न र नदी किनार आसपास बसोबास गर्ने स्थानीयलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।