नेपालमा खेल राजनीतिमा बढ्दो हस्तक्षेपप्रति एशियाली साइकलिङ अध्यक्षको चिन्ता



काठमाडौं,असार २० । एशियाली साइकलिङ महासंघका अध्यक्ष तथा युसीआई म्यानेजमेन्ट कमिटीका सदस्य डाटो अमर्जित सिंह गिल नेपाल साइकलिङ संघको निमन्त्रणामा नेपाल आएका छन्।

शिष्टाचार भ्रमणका क्रममा उनले नेपाल ओलम्पिक कमिटी (एनओसी) का महासचिव निलेन्द्र श्रेष्ठ, उपाध्यक्ष सुनील श्रेष्ठ, राष्ट्रिय एन्टी डोपिङ एजेन्सी (नाडा) का डा. अशिम भण्डारीसहितका खेल अधिकारीहरूसँग भेट गरेका छन्।

भेटमा नेपाली खेल क्षेत्रमा बढ्दो राजनीतिक प्रभाव, निष्पक्ष निर्वाचन रोक्ने रणनीति र शक्ति केन्द्रिकरणप्रति चिन्ता व्यक्त गरिएको थियो। विशेषगरी एनओसीको दुई कार्यकाल सीमितता सम्बन्धी प्रावधानमाथि आलोचना भएको छ। सो व्यवस्था पूर्व अध्यक्ष ध्रुवबहादुर प्रधानको उम्मेदवारी रोक्न र वर्तमान अध्यक्ष जीवनराम श्रेष्ठलाई फाइदा पुग्ने गरी ल्याइएको आरोप लाग्दै आएको छ।

पौडी, साइकलिङ, ब्याडमिन्टन, टेनिस, तौलउठाउनेजस्ता खेल संघहरूमा निर्वाचन रोकिएको, अन्तरिम समिति गठन भएको र राजनीतिक हस्तक्षेप बढेको बताइएको छ। एनओसी निर्वाचन अगाडि पाँच संघले सर्वोच्च अदालतमा मुद्दा दायर गरे पनि अदालतको आदेश बेवास्ता गर्दै साधारण सभा सञ्चालन गरिएको थियो।

यसै आधारमा गरिएको निर्वाचनलाई युवा तथा खेलकुद मन्त्रालय, एनएससी र अदालतले “गैरवैधानिक” भने पनि ओसीएले जीवनराम श्रेष्ठ नेतृत्वलाई मान्यता दिँदै आएको छ।

गिलले यस्तो अवस्था ओलम्पिक मूल्य र खेलाडीहरूको आत्मसम्मानविरुद्ध रहेको बताउँदै नेपालजस्तो मुलुकमा यति गहिरो संकट देखेर अचम्भित भएको प्रतिक्रिया दिएका छन्।

प्रतिक्रिया दिनुहोस्