प्रधानमन्त्री ओलीबाट नेपाली महिला फुटबल टोलीलाई फाइनल खेलका लागि शुभकामना

काठमाडौं,असार २१ । फाइनल खेलकाे तयारीमा रहेको नेपाली महिला फुटबल टोलीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आज भर्चुअल माध्यमबाट शुभकामना दिएका छन् । स्पेन भ्रमणपछि स्वदेश फर्कनासाथ बालुवाटारस्थित निवासबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले टोलीको आत्मबल, प्रदर्शनप्रति विश्वास व्यक्त गर्दै सफलता हासिल हुने विश्वास प्रकट गरे ।
उज्बेकिस्तानमा रहेका खेलाडीहरू भर्चुअल रूपमा कार्यक्रममा सहभागी भएका थिए। प्रधानमन्त्रीको सम्बोधनपछि कप्तान सावित्रा भण्डारीसहित खेलाडीहरूले आभार व्यक्त गर्दै शुभकामना ग्रहण गरे।
कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङ, एन्फा अध्यक्ष पङ्कजविक्रम नेम्वाङ, महासचिव किरण राई लगायतको उपस्थिति थियो।
प्रधानमन्त्री ओलीले श्रीलङ्कालाई हराएर टोलीले देखाएको प्रदर्शनको प्रशंसा गर्दै उज्बेकिस्तानसँगको खेलमा विजयको विश्वास व्यक्त गरे। साथै, उनले रियल म्याड्रिडको रंगशाला जस्तै पूर्वाधार नेपालमा निर्माण गर्नुपर्ने आवश्यकता पनि औंल्याए।
एन्फा अध्यक्ष नेम्वाङले शुभकामनाका लागि धन्यवाद दिँदै खेल पूर्वाधार निर्माणमा सरकारलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे।