रवि लामिछानेविरुद्धको ‘राजनीतिक प्रतिशोध’ विरुद्ध २४ लाखभन्दा बढीको हस्ताक्षर, अभियान देश–विदेशमा फैलिँदै
काठमाडौं,साउन १ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि गरिएको भनिएको राजनीतिक प्रतिशोधविरुद्ध देश तथा विदेशमा सुरु गरिएको जनहस्ताक्षर अभियानले हालसम्म २४ लाख ५७ हजार ६१८ हस्ताक्षर संकलन गरिसकेको छ। असार ७ गतेदेखि सुरु गरिएको अभियान कम्तीमा १०० दिन सञ्चालन गर्ने योजना अनुरूप अहिले २५ औं दिनसम्म आइपुग्दा सातवटै प्रदेश, अधिकांश जिल्ला, पालिका र विदेशसम्म फैलिएको छ।
प्रदेश, जिल्ला र पालिकास्तरका समितिहरूले हालसम्म अभियानको नेतृत्व गरिरहेका छन् भने साउन ५ गतेदेखि वडा तहसम्म विस्तार गर्दै घरदैलो अभियान सुरु गर्ने तयारी गरिएको छ। साथै नेपाल–भारत सीमा नाकाका मुख्य बिन्दुहरू जस्तै काकडभिट्टा, रक्सौल, जोगवनी, बेलहिया, जमुनाह, गड्डाचौकी लगायत स्थानहरू, प्रमुख विमानस्थल, बसपार्क तथा सार्वजनिक आवागमन हुने स्थलहरूमा ऐक्यबद्धता डेस्क सञ्चालन गरिने योजना छ।
रुपन्देही–३ का ३६ वटै वडामा उपनिर्वाचनको सन्दर्भमा बुथमार्फत अभियान तीव्र पारिएको छ। बर्खा र खेतीपातीको समय भएकाले केही ग्रामीण क्षेत्रमा अभियान सुस्त देखिए पनि आगामी दिनमा सक्रियता बढ्ने अपेक्षा गरिएको छ।
देश-विदेशमा रहेका रास्वपाका विभिन्न समिति, शुभेच्छुक र शुभचिन्तकहरूले स्वस्फूर्तरूपमा अभियानलाई नेतृत्व दिइरहेका छन्।
हालसम्म प्रदेशगत हस्ताक्षर विवरण यसप्रकार छ: कोशी प्रदेशमा १,६६,८६१, मधेस प्रदेशमा २०,५०५, बागमती प्रदेशमा ६,३९,०६८, गण्डकी प्रदेशमा ४,३२,७२३, लुम्बिनी प्रदेशमा २,३६,५९५, कर्णाली प्रदेशमा ४३,७७५, सुदूरपश्चिम प्रदेशमा ९४,५३५, केन्द्रीय कार्यालयमा ३३,३७०, काठमाडौंमा RAT व्यवस्थापक बुथमा ५९,८८५, ह्वाट्सएपमार्फत ६,५०,१७२ र इमेलमार्फत ८०,१७६ हस्ताक्षर संकलन भइसकेको छ।
अभियानका लागि छुट्टै कोष सञ्चालनमा छ, जसबाट सम्पूर्ण खर्च व्यवस्थापन भइरहेको संयोजक दीपक बोहराले साउन १ मा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए। उनका अनुसार हालसम्म ५ लाख अपील र २ लाख हस्ताक्षर फारम छपाई गरी वितरण गरिएको छ। छपाई, प्रचार-प्रसार, बुथ निर्माण, व्यवस्थापन र विविध खर्चमा गरी अहिलेसम्म ५९ लाख ६७ हजार रुपैयाँ खर्च भइसकेको छ।
हालसम्म ४६ लाख १२ हजार ६३७ रुपैयाँ सहयोग संकलन भएकाले १३ लाख ५४ हजार ४८६ रुपैयाँ घाटा रहेको छ। अभियान अझै लामाे समय चल्ने भएकाले थप खर्चको अपेक्षा गरिएको संयोजक बोहराले बताए।

