मिथिलाञ्चलमा सामाचकेवा पर्व सुरु, दाजुभाइको दीर्घायुको कामना गर्दै मनाइँदै
जनकपुर,कात्तिक २८ । दाजुभाइ र दिदीबहिनीबीचको प्रेम, सद्भाव तथा आत्मीयताको प्रतीक मानिने सामाचकेवा पर्व मिथिलाञ्चलमा सुरु भएको छ। कार्तिक शुक्ल पञ्चमीदेखि सुरु हुने यो पर्व १० दिनसम्म मनाइन्छ भने एघारौँ दिन अर्थात् पूर्णिमाको रात सामाचकेवाको विसर्जन गरिन्छ।
पर्वका अवसरमा मिथिलाञ्चलका दिदीबहिनी, छोरीबुहारीले सामूहिक रूपमा नाचगान गर्दै दाजुभाइको सुख, समृद्धि र दीर्घायुको कामना गर्ने परम्परा रहेको छ।
पर्वका जानकार पण्डित रामकुमार शास्त्रीका अनुसार सामाचकेवा पर्वको पहिलो दिन दिदीबहिनीहरू समूह बनाएर परम्परागत गीत गाउँदै गाउँबाहिरका खेत तथा भिरमा पुग्छन्। त्यहाँ दाजुभाइको हातबाट खनिएको माटो ल्याई गिलो बनाएर विभिन्न आकृतिका सामा र चकेवा निर्माण गर्ने चलन छ।
रातो रङको बाँसको डालामा सामाचकेवा सजाएर दियो बाल्ने तथा राति गाउँका चोक, दोबाटो, चौबाटो, विद्यालय, धर्मशाला, मन्दिर र छठघाटमा लगेर नाचगान गर्ने परम्परा छ। यसरी दिदीबहिनीहरूले १० दिनसम्म सामाचकेवा खेल्दै दाजुभाइको दीर्घायुको कामना गर्छन्।
यस पर्वमा महिलाहरूले ‘गामके अधिकारी तोहे बरका भैया हो, भैया हातदश पोखरी खुनाई दिय, चम्पा फूल लगाइदिय’ तथा ‘सामचको सामचको ऐहा हो, ऐहा हो, गुँढ खेतमे भसिया हो’ लगायतका परम्परागत गीत गाउने गर्दछन्।
पर्वको एघारौँ दिन बिहानै पुनः सामाचकेवा निर्माण गरी रङ्गरोगन गरिन्छ। साँझ दाजुभाइलाई दहीचिउरा खुवाई परम्पराअनुसार फाँर भर्ने र दाजुभाइबाट सामाचकेवा फुटाउने विधि सम्पन्न गरिन्छ। त्यसपछि बाजागाजासहित नाचगान गर्दै सामाचकेवाको विसर्जन गरिन्छ।
सामाचकेवा पर्वमा विवाहित नारी माइत जाने परम्परा रहेकाले टाढा रहेका दिदीबहिनीसमेत माइतीघर फर्किने गर्दछन्। दाजुभाइ तथा दिदीबहिनी नहुनेहरूले पनि छरछिमेकका आफन्तसँग मिलेर पर्व मनाउने गरेका छन्।
मधेस प्रदेशका महोत्तरी, सर्लाही, सिरहा, धनुषा, सप्तरी, बारा र पर्सालगायतका जिल्लामा हर्षोल्लासका साथ मनाइने सामाचकेवा पर्व सीमावर्ती भारतीय जिल्लाहरूमा समेत प्रचलित रहेको छ।

