त्रिशूली नदीको बाढीले गल्छी–रसुवागढी सडकखण्डमा ठूलो क्षति, आवागमन अवरुद्ध
नुवाकोट, असोज १९ — अविरल वर्षासँगै आएको बाढीले त्रिशूली नदी आसपासका क्षेत्रहरूमा ठूलो क्षति पुर्याएको छ। गल्छी–रसुवागढी सडकखण्ड अन्तर्गत उत्तरगया गाउँपालिकाको विभिन्न भागमा सडक कटान भएपछि सवारी आवागमन पूर्ण रूपमा प्रभावित भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।
त्रिशूली नदीमा आइको बाढीले सडकका केही भाग नदीमा बगाएको छ भने धेरै स्थानमा सडक किनार भासिएको छ। सडक भासिँदा ठूला सवारी साधन मात्रै होइन, पैदल यात्रा समेत जोखिमपूर्ण बनेको स्थानीयवासीले बताएका छन्।
नदीमा पानीको सतह निरन्तर बढ्दै गएपछि जोखिम थपिएको छ। सडक अवरुद्ध भएपछि गल्छी, धादिङ, रसुवा र नुवाकोटतर्फको आवतजावत रोकिएको छ। स्थानीय प्रशासनले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार निरन्तर वर्षाका कारण उद्धार र मर्मतका काममा पनि कठिनाइ भइरहेको छ। प्रशासनले सुरक्षाका दृष्टिले सडक आसपासका क्षेत्रका बासिन्दालाई सतर्क रहन र अनावश्यक यात्रा नगर्न अनुरोध गरेको छ।

