बागमतीका १३ जिल्लामा मासु सुपरिवेक्षक तोकिने, बाढीपीडित बालबालिकालाई शैक्षिक सुविधा विस्तार
मकवानपुर,मंसिर ११ । बागमती प्रदेश सरकारले प्रदेशका १३ वटै जिल्लामा मासुको गुणस्तर अनुगमन तथा नियमन गर्न मासु सुपरिवेक्षक तोक्ने निर्णय गरेको छ ।
बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ को दफा ७ को उपदफा १ बमोजिम सबै जिल्लामा मासु सुपरिवेक्षक तोक्ने निर्णय गरेको हो ।
बैठकपछि निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री भरतबहादुर केसीले बजारमा अस्वस्थकर तथा गुणस्तरहीन मासु बिक्री–वितरण भइरहेको गुनासो बढेकाले अनुगमनलाई प्रभावकारी बनाउन यस्तो निर्णय गरिएको जानकारी दिनुभयो ।
बैठकले प्रदेश स्थापना भएयताको समग्र विकासको समीक्षा गर्दै आगामी १० वर्षको रणनीतिक गुरुयोजना तयार पार्न मुख्यमन्त्रीको संयोजकत्वमा उच्चस्तरीय निर्देशक समिति गठन गर्ने निर्णय पनि गरेको छ । समितिले प्रदेशका १३ जिल्ला, ११९ स्थानीय तह र सबै वडामा सरकारको उपस्थिति तथा कार्यप्रगतिको लेखाजोखा गर्नेछ ।
त्यस्तै, भोटेकोशी बाढीबाट प्रभावित बालबालिकालाई दिइँदै आएको शैक्षिक तथा अभिभावकत्व सुविधा विस्तार गरिएको छ । यसअघि दुवै अभिभावक गुमाएका बालबालिकालाई मात्र उच्च शिक्षासम्मको अध्ययन तथा व्यवस्थापन सुविधा दिइँदै आएकामा अब बुबा वा आमामध्ये एक जना गुमाएका बालबालिकाले समेत उक्त सुविधा पाउने भएका छन् ।
स्थानीय तहमा जनशक्ति अभाव पूर्ति गर्न स्थानीय सेवा गठन तथा सञ्चालन ऐन संशोधन विधेयक प्रदेश सभामा पेस गर्ने निर्णय पनि बैठकले गरेको छ । त्यस्तै, माथिल्लो पद रिक्त रहेको अवस्थामा पदपूर्ति नभएसम्म तल्लो तहका कर्मचारीलाई कायममुकायम जिम्मेवारी दिने निर्णय भएको प्रवक्ता केसीले बताउनुभयो ।
बैठकले उद्योग, पर्यटन तथा यातायात मन्त्रालयको सचिवको जिम्मेवारी दीपेन्द्र सुवेदीलाई दिने, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयमा ११औँ तहको एक प्राविधिक पद थप गर्ने तथा कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालयअन्तर्गत पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजनाको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णयसमेत गरेको छ ।
यसैगरी, जग्गा एकीकरणसहित बस्ती विकासका कार्यक्रम अघि बढाउन बस्ती विकास तथा जग्गा एकीकरण ऐन, २०८३ निर्माणका लागि सैद्धान्तिक सहमति दिने निर्णय भएको छ । रामेछापको मन्थली नगरपालिका–६ मा निर्माण हुने फोहोरमैला व्यवस्थापन केन्द्रका लागि जग्गा प्राप्ति गर्न उक्त आयोजनालाई प्राथमिकता प्राप्त आयोजना तोकिएको छ ।
मालपोत रजिस्ट्रेसन दस्तुरको स्रेस्ता व्यवस्थापनलगायतका कामका लागि भूमि प्रशासन कार्यालयहरूलाई करिब चार करोड ७० लाख रुपैयाँ बजेट उपलब्ध गराउने निर्णयसमेत मन्त्रिपरिषद्ले गरेको प्रवक्ता केसीले जानकारी दिनुभयो ।

