दूरसञ्चार सेवाको गुणस्तरमा सम्झौता नगर्न मन्त्री तिमिल्सिनाको निर्देशन
काठमाडौँ, मंसिर ११। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले दूरसञ्चार सेवाको गुणस्तरमा कुनै सम्झौता नगर्न सेवा प्रदायक र नियामक निकायलाई निर्देशन दिनुभएको छ।
नेपाल दूरसञ्चार प्राधिकरणले आयोजना गरेको ‘दूरसञ्चार सेवाको वर्तमान अवस्था तथा सेवाको गुणस्तर’ विषयक अन्तरक्रियामा मन्त्री तिमिल्सिनाले दूरसञ्चार सेवा नागरिकको आधारभूत आवश्यकतासँग जोडिएकाले गुणस्तरीय सेवा उपलब्ध गराउने जिम्मेवारीबाट कुनै पनि पक्ष पन्छिन नमिल्ने बताउनुभयो।
उहाँले लामो समयसम्म सेवा विस्तार र पहुँचमा केन्द्रित हुँदा गुणस्तरको पक्ष ओझेलमा परेको उल्लेख गर्दै राजधानी काठमाडौँमै नियमित टेलिफोन सम्पर्क स्थापित हुन नसक्नु र उपभोक्ताले प्रतिबद्धताअनुसारको इन्टरनेट गति नपाउनु गम्भीर विषय भएको बताउनुभयो। गुणस्तरीय दूरसञ्चार सेवा विलासिता नभई नागरिकको न्यूनतम आवश्यकता भएको उहाँको भनाइ थियो।
सेवा प्रदायकले लागत घटाउने र नाफा बढाउने विषयलाई मात्र प्राथमिकता दिन नहुने उल्लेख गर्दै उहाँले अनुमतिपत्र तथा सम्झौतामा गरिएका प्रतिबद्धताअनुसार सेवा उपलब्ध गराउनुपर्ने बताउनुभयो। गुणस्तरीय सेवा प्रदान गरेपछि मात्रै व्यवसायबाट नाफा कमाउनुपर्ने उहाँले स्पष्ट पार्नुभयो।
मन्त्री तिमिल्सिनाले कानुन उल्लङ्घन गर्ने सेवा प्रदायकमाथि कारबाही गर्नु नियामक निकायको अधिकार मात्र नभई दायित्वसमेत भएको बताउनुभयो। अनुरोध र पत्राचारले मात्र सुधार नहुने भन्दै उहाँले कानुनी अधिकार प्रयोग गरेर प्रभावकारी नियमन गर्न प्राधिकरणलाई आग्रह गर्नुभयो।
दूरसञ्चार क्षेत्रमा सरकारलाई बुझाउनुपर्ने अर्बौँ रुपैयाँ बक्यौता नतिर्ने, अनुमतिपत्रको अवधि समाप्त हुँदासमेत सेवा तथा व्यवसाय विस्तार गर्ने र कानुनी दायित्व पूरा नगर्ने प्रवृत्ति स्वीकार्य नहुने उहाँको भनाइ थियो। सरकार कुनै एउटा कम्पनीको पक्ष वा विपक्षमा नरहेको स्पष्ट पार्दै उहाँले समग्र क्षेत्रको सुधार, स्वच्छ व्यावसायिक वातावरण र उपभोक्ताको हित सरकारको प्राथमिकता भएको बताउनुभयो।
दूरसञ्चार क्षेत्रलाई नागरिकले भ्रष्टाचार र अनियमितताको अखडाका रूपमा हेर्न थालेको उल्लेख गर्दै उहाँले यसको छवि सुधार्न सेवा प्रदायक र नियामक निकाय दुवै जिम्मेवार हुनुपर्ने बताउनुभयो। मन्त्रालयले आवश्यक नीतिगत तथा कानुनी सुधारमा सहयोग गर्ने तर कानुनविपरीतका गतिविधिलाई संरक्षण नगर्ने उहाँले स्पष्ट पार्नुभयो।
कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले दूरसञ्चार सेवाको गुणस्तर सुधार गर्नु सेवा प्रदायक, नियामक निकाय र सरकारको साझा जिम्मेवारी भएको बताउनुभयो। निर्देशन र निर्णयपछि पनि सेवाको अवस्थामा अपेक्षित सुधार हुन नसकेको भन्दै उहाँले अब नतिजामुखी कार्ययोजना आवश्यक रहेको धारणा राख्नुभयो।
समस्या पहिचान, समाधानका उपाय र सुधारको समयसीमा स्पष्ट हुने गरी प्रतिवेदन तयार गर्नुपर्ने उल्लेख गर्दै अध्यक्ष घिमिरेले प्राधिकरणका निर्देशनको प्रत्यक्ष लाभ नागरिकले पाउनुपर्ने बताउनुभयो। दूरसञ्चार सेवालाई चुस्त, गुणस्तरीय र भरपर्दो बनाउन प्राधिकरण आवश्यक समन्वय, सहयोग र सहजीकरणका लागि तयार रहेको उहाँले बताउनुभयो।

