बाढीले क्षतिग्रस्त विदुर खानेपानी आयोजनाको पुनर्निर्माण प्रक्रिया अघि बढाइँदै



नुवाकोट, मंसिर ११ । तीन महिनाअघि आएको विनाशकारी बाढीले क्षतिग्रस्त बनाएको नुवाकोटको सदरमुकामस्थित विदुर खानेपानी आयोजनाको पुनर्निर्माण प्रक्रिया अघि बढाइएको छ ।

विपद्पछिको प्रतिकार्य योजनाअन्तर्गत नेपाल रेडक्रस सोसाइटी नुवाकोटले आयोजनाको पुनर्निर्माणका लागि आवश्यक तयारी सुरु गरेको हो । विदुर नगरवासीका करिब पाँच हजार सदस्य आबद्ध रहेको उक्त खानेपानी आयोजना फलाखुखोला मुहानबाट सञ्चालन हुँदै आएको थियो ।

बाढीका कारण आयोजनाको ७ दशमलव ५ किलोमिटर पाइपलाइनसहित विभिन्न संरचनामा क्षति पुगेको छ । ती संरचनाको पुनर्निर्माणका लागि आवश्यक सर्वेक्षण तथा अन्य प्रक्रिया अघि बढाउन नेपाल रेडक्रस सोसाइटी नुवाकोट, विदुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था र विदुर नगरपालिका–१० बीच सहमति भएको रेडक्रस नुवाकोटका सभापति हरि श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार सहमतिअनुसार मंसिर १० गते बिहीबारदेखि संयुक्त टोली परिचालन गरी पुनर्निर्माणका लागि आवश्यक सर्वेक्षण गरिनेछ । विदुर नगरपालिकासँग भएको समझदारीपत्र, खानेपानी उपभोक्ता संस्थासँगको सहकार्य तथा रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघको सहयोगमा आयोजना पुनर्निर्माण गरिने वडा अध्यक्ष गणेशकुमार नेपालले बताए ।

रेडक्रसले बाढीपछिको प्रतिकार्यअन्तर्गत नुवाकोटमा विभिन्न मानवीय सेवा तथा राहतका कार्यक्रम सञ्चालन गर्दै आएको छ । खानेपानीजस्तो अत्यावश्यक आधारभूत सेवा पुनः सञ्चालनका लागि सुरु गरिएको पुनर्निर्माण पहलले प्रभावित नागरिकलाई राहत पुग्ने नेपाल रेडक्रस सोसाइटी नुवाकोटका अध्यक्ष सञ्जीवबहादुर श्रेष्ठले बताए ।

उनले बाढीबाट क्षतिग्रस्त खानेपानी संरचनाको पुनर्निर्माणलाई प्राथमिकतामा राखेर आवश्यक प्रक्रिया अघि बढाइएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्