बाढीपीडितका लागि वाइसीएलद्वारा नुवाकोटमा २६ अस्थायी आवास निर्माण
नुवाकोट, मंसिर ११ । त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट घरबारविहीन भएका परिवारका लागि योङ कम्युनिष्ट लिग (वाइसीएल) नेपालले नुवाकोटका विभिन्न स्थानमा अस्थायी आवास निर्माण गरेको छ ।
बाढीबाट प्रभावित तारकेश्वर गाउँपालिका–४ दर्शनटारको स्वारबस्तीमा वाइसीएलले थप ६ वटा अस्थायी आवास निर्माण सम्पन्न गरेको वाइसीएल नुवाकोटका अध्यक्ष जलन गजुरेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार चाडपर्वका कारण रोकिएको आवास निर्माण कार्य पर्व सकिएलगत्तै पुनः सुरु गरिएको हो । सुरक्षित आवास, नयाँ आशा र पुनर्निर्माणको अभियान भन्ने नारासहित बाढीपीडित परिवारलाई सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले निर्माण कार्यलाई निरन्तरता दिइएको हो ।
वाइसीएल नुवाकोट र केन्द्रीय टोलीको सहकार्यमा निर्माण गरिएका अस्थायी आवासले जाडोयाममा विस्थापित परिवारलाई राहत पुग्ने अपेक्षा गरिएको छ ।
यसअघि बेलकोटगढी नगरपालिका–७ र ८ तथा विदुर नगरपालिका–५ देवीघाटलगायतका स्थानमा २० वटा अस्थायी आवास निर्माण गरी हस्तान्तरण गरिसकिएको गजुरेलले बताउनुभयो । उहाँका अनुसार वाइसीएल नेपालले बाढीपीडितका लागि कुल १५० वटा अस्थायी आवास निर्माण गर्ने लक्ष्य राखेको छ । हालसम्म नुवाकोटमा २६ वटा आवास निर्माण सम्पन्न भएका छन् ।
वाइसीएलले आवास निर्माणसँगै बाढी प्रभावित क्षेत्रमा क्षतिग्रस्त संरचना तथा भग्नावशेष हटाउने, उद्धार गरिएका धनमाल सम्बन्धित धनीलाई हस्तान्तरण गर्ने र पुनर्निर्माण तथा पुनःस्थापनाका कामसमेत गर्दै आएको जनाएको छ । तारकेश्वर गाउँपालिका र विदुर नगरपालिकाका अन्य प्रभावित क्षेत्रमा पनि आवास निर्माण तथा पुनर्वास अभियान सञ्चालन गरिने जनाइएको छ ।
गत भदौ १० गते बिहान १० बजे त्रिशूली नदीमा आएको विनाशकारी बाढीले नुवाकोटका विदुर र बेलकोटगढी नगरपालिका तथा तारकेश्वर र म्यागङ गाउँपालिकामा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको थियो ।
जिल्ला प्रशासन कार्यालय नुवाकोटका अनुसार बाढीबाट जिल्लामा २ हजार ८३१ घरमा क्षति पुगेको छ । प्रशासनका प्रशासकीय अधिकृत रुपेशप्रसाद नेपालका अनुसार तीमध्ये १ हजार ८६० घर पूर्ण रूपमा र १०७ घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन् ।
बाढीले नुवाकोटसहित रसुवा, धादिङ, गोरखा, चितवन र तनहुँका विभिन्न स्थानमा घर, पुल, जलविद्युत् आयोजना, सडक तथा विद्यालयलगायतका संरचनामा ठूलो क्षति पुर्याएको थियो ।

