पूर्वप्रधानमन्त्रीहरूका सुरक्षाकर्मी फिर्ता : गृह मन्त्रालयले मापदण्डभन्दा बढी सुरक्षा कटौती गर्यो
काठमाडौँ, असोज २४ — गृह मन्त्रालयले पूर्वप्रधानमन्त्री र मन्त्रीहरूलाई उपलब्ध गराइएको अतिरिक्त सुरक्षा कटौती गरेको छ। बिहीबार बसेको सुरक्षा समितिको बैठकले बिशिष्ट व्यक्तिहरूका सुरक्षासम्बन्धी कार्यविधिअनुसार मापदण्डभन्दा बढी सुरक्षाकर्मी खटाइएका व्यक्तिहरूको सुरक्षामा कटौती गर्ने निर्णय गरेको हो।
कार्यविधिअनुसार पूर्वप्रधानमन्त्रीलाई बढीमा १० जना सुरक्षाकर्मी खटाउन सकिने व्यवस्था छ। तर पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाललगायतले सोभन्दा बढी सुरक्षाकर्मी राख्दै आएका थिए।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले मापदण्डभन्दा बढी खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउन नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई पत्राचार गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार कार्यविधिभन्दा बाहिर खटाइएका सुरक्षाकर्मी फिर्ता गर्ने निर्णयअनुसार कार्यान्वयन सुरु भइसकेको छ।
नेपाल प्रहरीका प्रवक्ता डिआइजी बिनोद घिमिरेका अनुसार मापदण्डभन्दा बढी खटाइएका सुरक्षाकर्मी धमाधम फिर्ता भइरहेका छन्। “हालसम्म नेपाल प्रहरीका करिब सयजना सुरक्षाकर्मी फिर्ता भइसकेका छन्,” घिमिरेले बताउनुभयो।
स्रोतका अनुसार सुरक्षाका नाममा कतिपय नेताहरूले सुरक्षाकर्मीलाई निजी सहयोगीका रूपमा प्रयोग गर्दै आएका थिए। कतिपयले पहुँच र शानका कारण पर्सनल सेक्युरिटी अफिसर (PSO) राखेका थिए। गृह मन्त्रालयले अबदेखि कार्यविधिअनुसार मात्र सुरक्षा व्यवस्था उपलब्ध गराइने स्पष्ट पारेको छ।

