नुवाकोटमा बेपत्ता एकै परिवारका तीन जना बुटवलमा भेटिए, छिमेकी महिलाको खोजी जारी
नुवाकोट,असोज २४ — नुवाकोट जिल्ला शिवपुरी गाउँपालिका–७ सुनखानीस्थित भेटुवालथोकका बेपत्ता एकै परिवारका तीन जना बुटवलमा फेला परेका छन्। बुधबारदेखि रहस्यमय रूपमा हराएका ती परिवारका सदस्यहरूलाई जिल्ला प्रहरी कार्यालय नुवाकोटको समन्वयमा फेला पारिएको हो ।
फेला परेकामध्ये वर्ष ४० का दिपक भेटुवाल, उनकी १८ वर्षीया छोरी सुस्मिता भेटुवाल र १४ वर्षका छोरा युनिक भेटुवाल रहेका छन्। उनीहरूलाई बुटवलमा सुरक्षित अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।
तर, उनीहरूसँगै गाउँबाट निस्किएकी ४२ वर्षीया छिमेकी जानकी तामाङ भने अहिलेसम्म पनि प्रहरी सम्पर्कमा नआएकी नुवाकोट प्रहरीले जनाएको छ। उनको खोजीकार्यलाई तीव्रता दिइएको छ।
असोज २२ गतेदेखि सम्पर्कविहीन बनेका भेटुवाल परिवारका प्रमुख दिपक भेटुवालले हराउनुअघि शिवपुरी गाउँपालिकाको शेरा बगरस्थित सानिमा बैंकबाट करिब ७ लाख रुपैयाँ निकालेका थिए। त्यसपछि उनीहरू ट्याक्सीमार्फत गल्छी नाका पुगेको देखिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार, पछिल्लो खोजतलास र अनुसन्धानका क्रममा उनीहरूलाई बुटवलमा फेला पारिएको हो। प्रहरीका अनुसार, भेटुवाल परिवारलाई छिट्टै नुवाकोट ल्याएर परिवारसँग समन्वय गराइने तयारी भइरहेको छ।
घटनाको विस्तृत कारण र उनीहरू बुटवलसम्म पुग्ने परिस्थितिबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

