रसुवाको टिमुरेमा करेन्ट लागेर एक जनाको मृत्यु



रसुवा,असोज २५— गोसाइँकुण्ड गाउँपालिका–२, टिमुरेमा शनिबार दिउँसो करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

सडक निर्माणको क्रममा काम गरिरहेका स्काभेटर चालकलाई एक्कासी करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिनुभयो। करेन्ट लागेर कालिका गाउँपालिका–३ का ५० वर्षीय शिव पौडेलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतक पौडेलको शव पोस्टमार्टमका लागि रसुवा अस्पतालमा पठाइएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्