नुवाकोटको तारकेश्वर गाउँपालिकामा २८ वटा पसलको छड्के अनुगमन, म्याद गुज्रेका वस्तु नष्ट
नुवाकोट,कात्तिक १— तारकेश्वर गाउँपालिकामा रहेको विभिन्न पसलहरूको छड्के अनुगमन गरिएको छ। गाउँपालिका–५ र ६ का विभिन्न स्थानमा रहेका २८ वटा पसलको अनुगमन गरी म्याद गुज्रेका अखाद्य तथा पेय पदार्थ जफत गरी नष्ट गरिएको हो।
आम उपभोक्ताबाट गुनासो प्राप्त भएपछि गाउँपालिकाले सम्बन्धित प्राविधिक कर्मचारी र गाउँ प्रहरीसहितको टोली परिचालन गरी दुईवटा होटल र २६ वटा किराना पसलको अनुगमन गरेको गाउँपालिका अध्यक्ष शिव अधिकारी अविरलले जानकारी दिनुभयो।
अनुगमनका क्रममा गोर्स्याङ, कालीमाटी, निग्लेनी, काव्रे, मझुवा, भमरा, कुवापानी लगायतका क्षेत्रमा रहेका पसलहरूमा बिक्री वितरणमा रहेका करीब २५ हजार रुपैयाँ बराबरका सात प्रकारका म्याद गुज्रेका, कुहिएका र बिग्रिएका वस्तुहरू जफत गरी नष्ट गरिएको हो।
गाउँपालिकाले उपभोक्ताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै यस्ता अनुगमनलाई निरन्तरता दिने जनाएको छ।

