गोरखा बजारमा २० किलो पटका बरामद, प्रहरीद्वारा कडाइ गरी निगरानी
गोरखा,कात्तिक २ — जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले सदरमुकाम गोरखा बजारबाट २० किलोग्राम पटका बरामद गरेको छ।
प्रहरीका अनुसार, तिहारमा पड्काउने उद्देश्यले विभिन्न स्थानमा राखिएका पटका चेकजाँच तथा खानतलासी गर्ने क्रममा फेला परेका हुन्।
प्रहरीले पहिले नै पटका बिक्री, वितरण र प्रयोग नगर्न सूचना जारी गरेको थियो। तर अटेर गर्दै प्रयोग गरिएको पाइएपछि ती पटका बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार, शान्ति सुरक्षामा खलल पर्ने कार्य रोक्न प्रहरीले निरन्तर चेकजाँच र निगरानी अभियान सञ्चालन गरिरहेको छ। उनले भने, “त्यस्तो कार्यमा संलग्न व्यक्तिलाई प्रचलित कानुन अनुसार कारबाही गरिनेछ।”

