काग तिहार आज देशभर मनाइँदै, यमराजको दूतका रूपमा कागलाई दही–भात खुवाइयो



काठमाडौं,कात्तिक २— प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीका दिन मनाइने काग तिहार पर्व आज देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ। बिहान सूर्योदयकालमा त्रयोदशी पर्ने भएकाले शास्त्रसम्मत रूपमा आज (आइतबार) नै यो पर्व मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालले जानकारी दिएका छन्।

काग तिहारमा यमराजका दूतका रूपमा कागलाई पूजा गरी दही–भात र मीठा परिकार खुवाउने परम्परा रहिआएको छ। धार्मिक विश्वासअनुसार यमराजले लोकका खबर कागमार्फत थाहा पाउने भएकाले, आजको दिन कागलाई खुसी पार्दा यमराज पनि प्रसन्न हुने र शुभ समाचार प्राप्त हुने मान्यता छ।

‘काकेन दधि भक्षितम्’ भन्ने शास्त्रीय भनाइअनुसार कागलाई दही–भात मन पर्ने भएकाले आज विशेष गरी कागलाई दही–भात खुवाउने चलन छ।

यस अवसरमा कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित कागेश्वरी महादेव मन्दिर र हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा विशेष पूजा–आराधना हुँदैछ। कागेश्वरी मन्दिरमा कागको ठूलो मूर्तिको पूजा गर्ने परम्परा छ।

यस पर्वसँगै शनिबार बेलुकीदेखि यम दीपदान सुरु भइसकेको छ। वैदिक मान्यताअनुसार यम दीप दक्षिण फर्काएर दान गरे यमयातनाबाट मुक्ति पाइन्छ भन्ने विश्वास छ।

यस वर्ष तिथिको घटबढका कारण शनिबार बेलुकीदेखि नै सुरु भएको यमपञ्चक अन्तर्गत आइतबार काग तिहार, सोमबार कुकुर तिहार, मंगलबार गाई र लक्ष्मी पूजा, बुधबार गोवर्धन पूजा र बिहीबार भाइटीका मनाइनेछ।

प्रतिक्रिया दिनुहोस्