गाईपूजाद्वारा तिहारको पाँचौँ दिन मनाइँदै, गौमातालाई सम्मान र आस्था
काठमाडौं, कार्तिक २९ — यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज देशभर गाईपूजाका साथ श्रद्धा र आस्थापूर्वक मनाइँदैछ। कार्तिक शुक्ल प्रतिपदाका दिन हिन्दू धर्मावलम्बीहरूले गाईलाई पवित्र मान्दै पूजा–आराधना गरी मीठा परिकार खान दिने परम्परा पुरानो वैदिक सनातन कालदेखिको मानिन्छ।
गाईले दिने दूध आमाको दूधसरह पौष्टिक हुने भएकाले उनलाई ‘गौमाता’को रूपमा सम्मान गरिन्छ। स्थानीय जातका गाईमा पाइने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरमार्फत मानिसलाई शक्ति प्रदान गर्ने भएकाले गाईको वैज्ञानिक महत्व पनि रहेको धर्मशास्त्रविद्हरू बताउँछन्।
धर्मशास्त्रविद् प्रा. तोयराज नेपालका अनुसार नेपालका कतिपय भागमा कार्तिक कृष्ण औँसीकै दिन गाईपूजा गर्ने परम्परा रहेपनि शास्त्रीय दृष्टिले औँसीको अन्त्य र प्रतिपदाको प्रारम्भमा गाईपूजा गर्नुपर्ने उल्लेख छ।
वैदिक सनातन हिन्दू परम्पराअनुसार प्रत्येक धार्मिक कर्ममा गाईदानको प्रचलन छ। पछिल्ला वर्षहरूमा गाईको अभावका कारण प्रतीकस्वरूप पैसा राखेर ‘गाईदान’को सङ्कल्प गरिने चलन पनि बढ्दै गएको छ।
गाईलाई राष्ट्रिय जनावरको रूपमा सम्मान गरिएको छ। धार्मिक विश्वासअनुसार आजको दिन गाईपूजा गरी साउन शुक्ल पूर्णिमामा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिए मृत्युपश्चात् गाईले वैतरणी नदी पार गराई स्वर्ग पु–याउँछिन् भन्ने आस्था छ।
आज देशभर मन्दिर, घर आँगन र गोठहरूमा गाईको पूजा गरी मिठा परिकार खुवाउने, फूलमाला अर्पण गर्ने र गौमाताको कृपा प्राप्तिको कामना गर्ने क्रम चलेको छ।

