विश्वभर मनाइँदैछ भाइटीका : एउटै मितिमा दिदीबहिनी र दाजुभाइबीच स्नेहको साटासाट
काठमाडौँ, कार्तिक ६ — आज यमपञ्चकको पाँचौँ दिन दिदीबहिनी र दाजुभाइबीच माया, स्नेह र आशीर्वाद साटासाट गर्ने पर्व भाइटीका देश–विदेशमा उल्लासपूर्वक मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले कात्तिक ६ गते बिहीबार बिहान ११ बजेर ३९ मिनेटलाई यस वर्षको भाइटीकाको उत्तम साइत घोषणा गरेको छ।
यो साइत केवल नेपालमा सीमित छैन। विदेशमा रहेका लाखौँ नेपाली दिदीबहिनी र दाजुभाइहरूले पनि आफ्ना देशको समयअनुसार शुभ साइतमा भाइटीका मनाउने तयारी गरेका छन्। अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले अमेरिका, अष्ट्रेलिया, जापानदेखि युरोपका विभिन्न देशमा समेत भाइटीकाको उपयुक्त समय सार्वजनिक गरेको छ।
समितिका अनुसार २२ र २३ अक्टोबरका दिन विश्वका विभिन्न देशमा भाइटीका लगाउने शुभ समय जुरेको छ। भारतको दिल्लीमा बिहीबार बिहान ११:५५ बजे भाइटीकाको उत्तम साइत रहनेछ भने अमेरिकामा यही साइत २२ अक्टोबरका दिनका लागि उपयुक्त देखिएको छ। अमेरिकाका प्रमुख सहरहरू न्यूयोर्क, वासिङ्टन डीसी, टेक्सास र क्यालिफोर्नियामा बिहान ११ बजेतिर शुभ साइत मिलेको छ। क्यानडाको टोरन्टो र भ्यानकुभरमा पनि यही समयमा भाइटीका लगाउन सकिनेछ।
अष्ट्रेलियामा सिड्नी, मेलबर्न, ब्रिसबेन, एडिलेड र पर्थमा दिदीबहिनी र दाजुभाइबीचको माया साटासाट हुने बेला नजिकिँदैछ भने युरोपका लण्डन, पेरिस, फ्र्याङ्कफर्ट, ओस्लो र लिस्बनमा पनि बिहान ११ बजेतिर शुभ साइत रहेको छ। एशियाली देशहरू मलेसिया, थाइल्यान्ड, सिंगापुर, जापान, दक्षिण कोरिया र इजरायलमा पनि दिदीबहिनीहरूले आफ्ना दाजुभाइलाई टीका लगाउने तयारी गरेका छन्।
नेपालमै दिदीबहिनीहरूले दाजुभाइको ललाटमा टीका लगाई दीर्घायु, समृद्धि र सफल जीवनको कामना गर्ने परम्परा छ भने दाजुभाइहरूले दिदीबहिनीलाई उपहार प्रदान गरी सम्मान र स्नेह प्रकट गर्छन्। विश्वका विभिन्न देशमा रहेका नेपालीहरूले पनि उही माया र संस्कारको भावनासहित भाइटीका मनाउँदै नेपाली संस्कृति र परम्परालाई जीवित राखिरहेका छन्।

