दृष्टिविहीनले तिहारमा देउसीभैलो खेल्दै संस्कृति जर्गेना र शिक्षा सहयोग अभियान



सर्लाही,कात्तिक ६ — तिहारको अवसरमा सर्लाही, रौतहट, बारा र महोत्तरीका दृष्टिविहीनहरूले सामूहिक रूपमा देउसीभैलो खेल्दै सांस्कृतिक जर्गेना र सामाजिक सन्देश फैलाइरहेका छन्। नेपाल नेत्रहीन सङ्घ मधेश प्रदेशको आयोजनामा दृष्टिविहीनको टोली तीन दिनदेखि विभिन्न जिल्लामा देउसीभैलो खेल्दै हिँडिरहेको सङ्घका अध्यक्ष लक्ष्मेश्वर महतो कुशवाहाले जानकारी दिनुभयो।

महतोका अनुसार देउसीभैलो खेल्दै उनीहरूले शिक्षामा पहुँच विस्तार, अध्ययन सामग्री उत्पादन, छात्रवृत्ति कोष सृजन, आत्मनिर्भरता प्रवर्धन र क्षमता विकासका लागि सहयोग सङ्कलन गरिरहेका छन्। बुधबार साँझ सर्लाहीको लालबन्दी बजारमा उनीहरूको देउसीभैलो कार्यक्रम सम्पन्न भएको थियो।

यो टोली सिन्धुलीको दुधौली, महोत्तरीको गौरीडाँडा, बर्दिवास, गौशाला हुँदै लालबन्दी आइपुगेको सङ्घकी कोषाध्यक्ष अन्जु धितालले बताउनुभयो। “तिहारमा हामी वर्षेनि यसरी देउसीभैलो खेल्ने गर्छौं,” उनले भनिन्, “संस्कृतिको जर्गेना र दृष्टिविहीन समुदायको पहिचान जगाउने हाम्रो मुख्य उद्देश्य हो।”

देउसीभैलो टोलीमा सर्लाही, महोत्तरी, रौतहट र बाराका दृष्टिविहीन शिक्षक र सांस्कृतिक कलाकारहरू सहभागी छन्। आफैं गीत गाउँदै, देउसी भट्याउँदै उनीहरू अघि बढिरहेका छन्। स्थानीय वासिन्दा, व्यवसायी, बटुवा र युवाहरूले आर्थिक सहयोग गर्दै देउसीभैलो टोलीलाई साथ दिएका छन्।

नेपाल नेत्रहीन सङ्घका सदस्य शिवेन्द्र यादवका अनुसार वर्षेनी सबैको सहयोगले यो अभियान निरन्तर चल्दै आएको छ। उनले भने, “हामी दृष्टिविहीनलाई स्थानीय समुदाय, व्यवसायी, अगुवा र पत्रकारले हौसला दिनुहुन्छ। यही प्रेरणाले हामी वर्षेनि देउसीभैलो खेल्दै संस्कृति र आत्मनिर्भरता दुवै जोगाइरहेका छौं।”

प्रतिक्रिया दिनुहोस्