तिहार सकिए पनि आज पनि सरकारी बिदा, पाँच दिन भयो तिहार बिदा
काठमाडौं,कात्तिक ७ — दिदीबहिनीको हातबाट भाइटीका लगाइसकेसँगै बिहीबार तिहार पर्व सम्पन्न भएको छ। तर तिहारको नाममा सरकारी बिदा भने आज (शुक्रबार) पनि जारी छ। यससँगै यो वर्ष तिहार बिदा पाँच दिन लामो भएको छ।
नेपाल सरकारले यस वर्ष कात्तिक ३ देखि ७ गतेसम्म अर्थात् शुक्रबारसम्म तिहार बिदा दिने व्यवस्था गरेको थियो। गृह मन्त्रालयले प्रकाशन गरेको राजपत्रअनुसार यस वर्ष तिथि घटबढका कारण लक्ष्मीपूजा र भाइटीकाकै बिचमा एक दिन अतिरिक्त बिदा परेको हो।
पहिलेका वर्षहरूमा सरकारले लक्ष्मीपूजादेखि भाइटीकासम्म तीन दिन मात्र बिदा दिने गर्थ्यो। तर पछिल्ला वर्षमा तिथिको भिन्नताका कारण बिदा विस्तार हुने क्रम निरन्तर चलिरहेको छ।
लामो सरकारी बिदाका कारण सरकारी कार्यालयका कामकाज प्रभावित हुने र सेवाग्राहीले कठिनाइ भोग्नुपर्ने भन्दै आलोचना हुने गरे पनि सरकारले यो वर्ष पनि तिहारका नाममा पाँच दिनको बिदा दिएको हो।
सोमबारदेखि बन्द भएका सरकारी कार्यालयहरू आइतबार मात्र खुल्नेछन्। तर सोमबार फेरि मिथिलाञ्चलको प्रमुख पर्व छठ परेकोले त्यस दिन पनि सार्वजनिक बिदा हुनेछ। यसले गर्दा सरकारी कार्यालयहरू करिब एक सातासम्म निरन्तर बन्द रहने भएका छन्।

