मधेस प्रदेशमा छठपर्वका लागि थप एक दिन सार्वजनिक बिदा



जनकपुरधाम,कात्तिक ७ । मधेस प्रदेश सरकारले छठपर्वको चौथो दिन कात्तिक ११ गते (मङ्गलबार) थप एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले आज सूचना जारी गर्दै छठपर्वको भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर पर्व समापन गर्ने परम्परा रहेकाले प्रदेशभरि सार्वजनिक बिदा दिने निर्णय गरिएको जनाएको छ ।

मन्त्रालयका उपसचिव गणेश नायकद्वारा जारी सूचनामा मधेस प्रदेश सरकारले यसअघि विसं २०८१ चैत २२ गते प्रदेश राजपत्रमा प्रकाशित थप बिदासम्बन्धी सूचनाअनुसार छठका अवसरमा थप एक दिन बिदा दिने व्यवस्था रहेको स्मरण दिलाइएको छ ।

यसअघि सङ्घ सरकारले सन्ध्याको अस्ताउँदो सूर्यलाई अर्घ्य दिने दिन कात्तिक १० गते सोमबारका लागि देशभर सार्वजनिक बिदा दिइसकेको छ ।
यससँगै मधेस प्रदेशमा छठपर्वका अवसरमा दुई दिन लगातार सार्वजनिक बिदा हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्